उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम सुरु भएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रम अन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै सामाजिक विकास कार्यालय म्याग्दीका शाखा अधिकृत बाबुराम आचार्यले सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिमले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पु¥याउने बताउनुभयो । उहाँले गाउँघरमा उत्पादन हुने दलहन बालीअन्तर्गत गेडागुडीलाई त्यत्तिकै बिक्री गर्नुभन्दा त्यसलाई सर्वोत्तम पीठो बनाउँदा धेरै फाइदा हुने भन्दै तालिममा सिकेको ज्ञान, सिपलाई व्यवहारमा उतारेर उद्यमी बन्नुपर्ने बताउनुभयो ।
घारका वडा अध्यक्ष रामबहादुर खड्काले घरदैलोमै आएको सिपमूलक व्यवसायीसम्बन्धी तालिमलाई चासोपूर्वक लिएर सक्रिय सहभागिता जनाउन सहभागीहरुलाई आग्रह गर्दै तालिमपश्चात् सर्वोत्तम पीठो उत्पादन गर्नेतर्फ लाग्न सुझाव दिनुभयो । वडा सदस्यद्वय पुष्पा बानियाँ (बरुवाल) र चिनबहादुर पुनले सबै समूह तथा वर्गका लागि तालिम उपयुक्त रहेकाले तालिमको अवधिमा सिकेको ज्ञान, सिपलाई आगामी दिनमा गाउँ, टोल र छिमेकमा पनि अरुलाई सिकाउनुपर्नेमा जोड दिनुभएको थियो ।
आउँदो ७ गतेसम्म चल्ने तालिमको सुआहारा कार्यक्रमका विज्ञद्वय राजेन्द्र अधिकारी र बालकुमारी पुनले सहजीकरण गरिरहनुभएको छ । घारका वडाध्यक्ष खड्काको अध्यक्षता र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न तालिम उद्घाटनसत्रमा मिलनका अध्यक्ष कमला बानियाँ थापाले स्वागतसहित तालिमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा, अन्नपूर्ण गाउँपालिका म्याग्दी र सुआहारा कार्यक्रमको प्राविधिक सहयोग रहेको तालिम मिलन म्याग्दीको आयोजना र अन्नपूर्ण–६, घारको वडा कार्यालयको सहकार्यमा सञ्चालन भैरहेको छ ।