म्याग्दीको सदरमुकाम बेनीमा आउँदो पुस अन्तिम सातादेखि सातौं म्याग्दी महोत्सव हुने भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव गर्न लागिएको हो ।
यसवर्ष पुस महिनाको २८ गतेदेखि माघ ७ गतेसम्म (१० दिन) सातौं संस्करणको म्याग्दी महोत्सव आयोजना गरिने उद्योग वाणिज्य संघको सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला–२०७९ आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघ म्याग्दी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं मुख्य आयोजक रहेको सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको आयोजकमा जिल्ला समन्वय समिति म्याग्दी, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका आयोजक रहेका छन्भने नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ । म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव सुरु गरिएको थियो ।
पत्रकार सम्मेलनमा म्याग्दी महोत्सवको बारेमा जानकारी गराउँदै संघका अध्यक्ष बेलबहादुर कटुवालले आसन्न सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला सम्पन्न गर्न अनुमानित आयतर्फ कुल एक करोड २४ लाख ८७ हजार रुपैयाँ प्रस्ताव गरिएको बताउनुभएको छ । उहाँले महोत्सवमा कुल एक करोड १५ लाख ७७ हजार दुईसय ११ रुपैयाँ खर्च लाग्ने र नौलाख नौहजार सातसय ८९ रुपैयाँ बचत हुने अनुमान गरिएको जानकारी दिनुभयो । महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु एवं सेवाहरुको स्टल प्रदर्शनी, महिला तथा पुरुष रनिङ शिल्ड भलिबल प्रतियोगिता र पुरुष बास्केटबल प्रतियोगिता आयोजना गरिने छ ।
महोत्सवमा खुल्ला लोकदोहोरीगीत प्रतियोगिता, खुल्ला रत्यौली, लोकनृत्य, गण्डकी लोकस्टार प्रतियोगिता, महिला तथा पुरुष लठो तान्ने, छेलो फ्याँक्ने, अन्धनिशान हान्ने प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष कटुवालले बताउनुभयो । त्यस्तै महोत्सवमा जातजाति, जनजातिका झाँकी र भेषभूषाको प्रदर्शनी प्रतियोगिता हुनेछ भने पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगिता, कालीगण्डकीमा ¥याफ्टिङको व्यवस्था, हेलिकप्टर सयर, बालउद्यान, मिनी चिडियाघर सञ्चालन तथा स्थानीय र राष्ट्रिय कलाकारहरुबाट साङ्गीतिक प्रस्तुती र म्याग्दी जिल्लामा रहेका विभिन्न जातजाति एवं जनजातिहरुको परम्परागत स्थानीय लोक, कला र संस्कृति झल्कने खालका कार्यक्रमहरुको प्रस्तुती रहने अध्यक्ष कटुवालको भनाइ छ ।
महोत्सवमा कुल २ सय ५८ वटा स्टलहरु रहने म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला सफलतापूर्वक सञ्चालन तथा सम्पन्न गर्नको लागि संघका अध्यक्ष कटुवालको संयोजकत्वमा मूल समितिसहित विभिन्न ३९ वटा उपसमितिहरु गठन गरेर महोत्सवको तयारीलाई अगाडि बढाइएको छ । महोत्सवमा धौलागिरि बेसक्याम्पसम्म हेलिकप्टरबाट सयर, कालीगण्डकीमा ¥याफ्टिङ गर्न पाइने, लभ्लीहिलसम्म घोडामा यात्रा र राष्ट्रियस्तरका ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।