प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई सडकले जोडेर मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिबद्धता जनाएका छन् ।
धवलागिरी गाउँपालिकाको मुदी, मुना, ताकम र धारापानीमा आइतबार गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनीहरुले ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रिय पदमार्गलाई व्यवस्थित गरेर पर्यटनको विकासमा जोड दिने बताए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार डाक्टर मिनबहादुर श्रेष्ठले मध्यपहाडीको बागलुङभन्दा म्याग्दी भएर ढोरपाटन जोड्ने सडक ६० किलोमिटर छोटो हुने भएकाले वैकल्पिक बनाउन सकिने बताए । ‘म योजना आयोगको उपाध्यक्ष हुँदा डिपिआर स्वीकृत र बजेटको स्रोत सुनिश्चितता गरेर ठेक्का प्रक्रिया अघि बढाएको बेनी–दरबाङ सडक कालोपत्र गर्ने काम अझै पुरा नहुनु दुःखद छ’ उहाँले भने, ‘बेनी–दरबाङ–धवलागिरी गाउँपालिका जोड्ने सडक कालोपत्रेलाई पूर्णताको साथै ढोरपाटनलाई सडक सञ्जालमा जोडेर पश्चिम म्याग्दीको समग्र विकासलाई अघि बढाउने हाम्रो प्रतिबद्धता छ ।’
प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले ताकमकोत, धौलागिरि चक्रिय पदमार्ग र गूर्जा हिमालको पर्यटन विकासका लागि पूर्वाधार निर्माणको साथै प्रचारप्रसार र व्यवस्थापनमा प्राथमिकता दिने बताए । पर्यटनको विकास गरेर सहर र विदेशमा गएकालाई गाउँ फर्काउने तथा आयआर्जनको अवसर सिर्जना गराउन सकिने बताउँदै उनले म्याग्दीको विकासमा निरन्तरतामा क्रमभङ्गता गर्नका लागि यसपालि गठबन्धनलाई जिताउन अपिल गरे ।
प्रदेशसभा क्षेत्र (२)मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जालीले धवलागिरी गाउँपालिकालाई जलविद्युत र जडिबुटीको माध्यमबाट समृद्ध गराउने योजना सुनाए । ‘यहाँ निजी क्षेत्रमार्फत भित्रिएका जलविद्युत आयोजना कार्यान्वयनको क्रममा रोजगारी सिर्जना गर्न सिपयुक्त दक्ष र योग्य जनशक्ति उत्पादन गर्न तीनै तहका सरकारबीच समन्वयको वातावरण बनाउँछु’ उनले भने, ‘जलविद्युत आयोजना निर्माणसम्पन्न भएपछि र पर्यटनको रोयल्टीबाट यस क्षेत्रको विकास बजेट बढ्छ । नागरिकको आधारभूत आवश्यकता र माग अनुसारका योजना कार्यान्वयन गर्न सहज हुन्छ ।’
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द पौडेलले आफू संविधानसभा सदस्य हुँदा सुरु गरेको ताकमको घनावस्ती विकासको कार्यक्रमलाई सफल बनाउन पनि यसपाली गठबन्धनलाई जिताउन आग्रह गरे । संविधानको रक्षा, स्थिरता, विकास र समृद्धिका लागि बनेको गठबन्धनमा विश्वास कायम गर्न र विपक्षीले फिँजाएको भ्रममा नपर्न पौडेलले आग्रह गरेका थिए ।
नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँले शान्ति प्रक्रिया, जनआन्दोलन, संविधान जारी र संघीयताको कार्यान्वयनमा सहकार्य गरेका राजनीतिक शक्तिहरु बीचको सहकार्यले राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका साथै सुशासन कायम हुने बताए । केपी ओलीले आफ्नै दुई तिहाई बहुमत नजिकको संसदलाई दुई–दुई पटकसम्म विघटन गरेर देशलाई अप्ठ्यारो अवस्थाबाट राजनीतिक निकाश दिन बनेको गठबन्धनको मर्म र भावना बुझेर धवलागिरीका कांग्रेस–माओवादी–समाजवादी र जनमोर्चाका कार्यकर्ताले स्थानीय तहमा जस्तै आगामी चुनावमा प्रतिगामीलाई सवक सिकाउनुपर्ने बानियाँको भनाइ थियो ।
नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार विमला गौचन, नेकपा एकीकृत समाजवादीका समानुपातिक उम्मेदवार दुर्गा कार्की, जनमोर्चाका समानुपातिक उम्मेदवार छबि विश्वकर्मा, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले महिला, दलित, जनजाति, पिछडिएका वर्ग र समुदायको पक्षमा संविधान बनाउने, लोर्डसेडिङको अन्त्य, शिक्षा, स्वास्थ्यका क्षेत्रमा परिवर्तन ल्याउने योगदान गरेका गठबन्धनका दललाई जिताउन अपिल गरे ।
Previous Article‘विकासको एजेण्डा बोकेको एमालेलाई भोट दिनुहोस्’
Next Article धवलागिरी र मालिकामा नमुना मतदान, न्यून मत बदर