साहारा न्यौपाने
बिजुलीबजार, हनुमानस्थान, अनामनगर हुँदै आउँदी हो सायद । जब घट्टेकुलोको चोकदेखि अगाडि बढ्दथी उसले छर्केको पफर््युम हावाले दौउँडाउँदै, नचाउँदै, उडाउँदै मेरो नाकको प्वालभित्र सर्लक्कै छिराउँथ्यो । त्यो बेला म वैद्यखानानिरको पानी ट्याङकी अगाडि सडक आफूभन्दा लामो कुँचोले बढारिरहेको हुन्थेँ । जब सेन्ट मेरो नाकको प्वाल हुँदै मेरो मन मतिष्कमा पुग्थ्यो तब म सडक बढार्न सक्दिनथेँ । दुई चार बोतल खाएर मान्छेलाई के नसा लाग्छ… ।
त्योभन्दा कैयौँ गुना बढी नशा लाग्थ्यो मलाई त्यो सेन्टले…। सिंहदरबारको पर्खालै पर्खाल हिँड्थिन् उनी सधैँ बिहानको साढे पाँच बजे । पुस महिना अनि बिहानको साढे पाँच बजे म उनलाई राम्रोसँग ठम्याउन सक्दिनथेँ । मर्निङवाक हिँड्थिन् वा कलेज जान्थिन् वा अन्त कतै । सोह्रवर्षे तरुनी हुन् या बच्चाकी आमा अथवा केटाकेटी नै । मैले आजसम्म पत्ता लगाएको छैन । झिसमिसे उज्यालोमा एउटा कुरा पत्ता लगाएको छु, त्यो भनेको उनी खास्सै अग्ली छैनन् । पर्खालतिरै बढारेजस्तो गरेर नजिकबाट हेर्नुपर्यो भन्ने कुरा मनमा सय चोटि आयो । तर फेरि उनलाई नजिकबाट नियाल्न सक्ने हिम्मत कहाँबाट जुटाउनु । उनको समीपको जब म कल्पना गर्छु, म बेहोस हुन्छु । यदि म साच्चै बेहोस भएर ढले भने… । के उनले समाउलिन्… ? के समाउलिन म सडकछापलाई… । पछाडि नफर्केर आफ्नो बाटो तताउलिन । फेरि सोच्छु उनी यति निष्ठुरी पनि नहोलिन् । यति मीठो बास्ना छर्ने सेन्ट जो लगाउछिन्… ।
दुई मिनेट, चार मिनेट, छ मिनेट हुँदै समयले रात छोट्याउँदै लगेको थियो । डर खुसी दुवै थियो मनमा । उज्यालोले म उनलाई देख्न पाउथे फेरि त्यही उज्यालोले उनले मलाई सडक बढारिरहेको देख्थिन् । तर म भाग्न सक्दिन मेरो वास्तविकता त्यही हो । विस्तारै विस्तारै म उनलाई देख्दै गइरहेको थिएँ । कति राम्रा जुत्ता लगाउँथिन् हिँडाइ पनि उस्तै राम्रो थियो । उनलाई म न्युप्लाजाको ओरालो झर्दासम्म हेरिरहन्थे । सधैँ कालो पाइन्ट र सेतो टिसर्ट लगाउथिन् । असाध्यै सुहाउने तर मलाई दुःख लागेको छ, उनको त्यो माक्स लगाउने बानीले । अब उनले यसरी सधैँ मुखमा माक्स लगाएर हिँडेपछि मैले अनुहार चाहिँ कसरी हेर्नु । म जोड जोडले सडक सफा गर्न पुग्थेँ । यो सडकमा धुलो भएर त उनले माक्स लगाएर हिँड्नुपरेको छ । माक्स लगाएर हिँड्नुमा उनको केही गल्ती छैन । मलाई लाग्छ म एकै दिनमा यो सहर सफा गरुँ । धुलोरहित बनाऊँ… । धुवाँ रहित बनाऊँ.. सफा बनाऊँ… सुन्दर बनाऊँ… स्वर्ग बनाऊँ ता कि उनले माक्स खोलेर हिँडून् र म मनभरी देख्न पाऊँ… ।
कोही मान्छेलाई हेरिराखे आँखाले जित्दोरहेछ अनि बिस्तारै मनले पनि । आजकल म पर्खाल साइड बढार्छु, किनकि उनलाई नजिकबाट हेर्न सक्ने भाको छु । तर उनले थाहा नपाउले गरी हेर्छु । म हेरिरहन्छु उनी केही प्रतिक्रिया नजनाई हिँड्छिन । कुनै दिन ‘सन्चै छ’ भनेर सोधेर हिँडे तिनको के जान्थ्यो होला । उनी सधैँ केही नबोली जान्थिन् । एक दिन सोच्दै नसोचको भयो । ‘सधैँ मलाई हेर्छस् है… बिरालोले जस्तो, केटी देख्न पा छैनस्.. एउटा आँखा एउटा हातमा, अर्को आँखा अर्को हातमा राखिदिन्छु अनि हेर्छस्..’ माक्स नै नखोली उनले यति रुखो वचन बोलेर गइन् । हेर्दा मात्रै सोझी रैछे, रुपकी मात्रै धनी रैछे, मनको पापीनीले मेरो मुटु थर्रर्रर्र कमाएर गई । मलाई कमजोर बनाएर गई, मलाई मारेर गई । त्यो दिनबाट उनी आउँदा सिंहदरबारको पर्खालतिर फर्केर हेरिनँ । तर आज पनि उनको सेन्टको बास्ना उसरी नै नाकको प्वाल हुँदै मन मतिष्कमा पुग्छ । वैद्यखानाको पानी ट्याङकी जब काट्दथिन् म उनलाई पछाडिबाट हेर्दथेँ । नहेरी बस्न मेरो मन मान्दैनथ्यो । उसको लचक लचक हिँडाइले मलाई जिस्काउँथ्यो, लाग्थ्यो मलाई पुठ्ठा फर्काएर हिँडेकी छ । उनको त्यो वाण जस्तो तिखो बोलीले मलाई घोचिरह्यो । मेरो मुटु जलिरह्यो ।
वैद्यखानाको पर्खाल साइड बढार्दै थिएँ । उनी अचानक मेरो अगाडि पाएँ । अब के हुने हो । हेर्न छोडेको थिएँ, होइन यिनले पछाडिबाट पुठ्ठा हेरेको पनि थाहा पाइन् कि क्या हो । आज पनि तिमीले मलाई रुखो वचन गर्ने भयौ र म अस्तिजस्तै लाचार रहने भए । भन्ने सोच्दै थिए ‘अस्ति मैले अलि बढी बोले जस्तो लाग्यो, सरी भन्न चाहन्छु’ भनिन् । मलाई राम्रोसँग थाहा थियो भगवान्ले केटीलाई दया र मायाको प्याकेज बनाएर पठाउँछन् । मैले सोचेजति निष्ठुरी नि हुन्नन् । झोलाबाट के झिक्दै र बोल्दै थिन् ‘आरआर क्याम्पस पढ्छु’ एउटा चकलेट मतिर इसारा गरी र भनिन् ‘हिजो दाइ आउनुभाछ दुबईबाट’ भन्दै दिइन् । लोभिनी पनि रैछिन् हुन त नदिए पनि हुन्थ्यो । दिइन् मलाई त्यतिको मानी त्यो नै ठुलो कुरा माने । बोल्न चाहिँ केही बोलिनँ । मलाई हतार भको छ भनेर आज पनि माक्स नखोली दुई शब्द बोलेर गइन् । मैले सिर्फ एउटा कुरा सोचिरहे ‘प्रिय.. म तिम्रा लागि यो सहर यति सफा गर्छु.. यति सफा गर्छु… कि तिमीले माक्स लगाएर हिँड्नुपर्दैन… ।
आजकल सर्लक्क नुवाई धुवाई गरेर, राम्रो लुगा लगाएर, कपाल त मेरो यसै राम्रो छ, तैपनि कोरेर हिँड्न मन लाग्छ । उनी आजकल आफै हात हल्लाउँदै जान्छिन् । आज त झन् अचम्मै भयो । चोर औला र बुढी औँला जोडेर हात हल्लाइन् । सायद ‘च्वाक देखिएको छौ’ भनिन् । कोठामा आएदेखि ऐना अगाडि उभिएको छु । उनले च्वाँक भनिन् । साच्चै म च्वाँक छु ? मेरो कोठा हेर कति लथालिङ्ग छ । कुनै दिन उनले ‘कान्छा.. तिम्रो कोठामा लैजाउन’ भनेर भनिन् भने के यस्तो फोहोर कोठामा उनी बस्लिन् ?
‘कान्छा तिम्रो छातीमा टाउको राखेर निदाउन चाहन्छु’ भनिन् भने ?
के म यस्तो फोहोर विस्तरामा उनलाई सुताउन सकुँला ? म कोठा सफा गर्न थाल्छु । सोच्दैछु यो कोठामा सबै चिज नयाँ ल्याउनेछु ।
मेरो मनमा फेरि अर्को कुरा आयो ।
जब उनी मेरो छातीमा टाउको राखेर निदाउलिन र म उनको कपाल मुसारिरहुँला र अचानक उनले कान्छा तिमी र म मिलेर एउटा छोरी पाउन भनिन् भने ?
मेरो सास रोकिन्छ ।
आज पनि उनी मेरो अगाडि आएर उभिइन् । सायद केही भन्न खोज्दैथिन्, गाली त गर्दिनन् अब मलाई थाहा छ । धेरै खुसी थिइन् आँखाहरु चञ्चल देखिएका थिए ।
थाहा छ, तिम्रो र मेरो काम अब एउटै हुने भयो ।
तिमीले मलाई ‘तिमी’ किन भन्छ्यौ ?तपाईं, हजुर भनेर बोलाए तिम्रो के जान्छ ? तर मैले केही बोलिनँ उनको कुरा सुनि मात्र रहे ।
तिमी सोध्दैनौँ हाम्रो काम अब एउटै किन हुने भयो ?
किन ?
अमेरिकामा प्रायजसो नेपालीहरुले काम पाउने भनेको भाँडा माझ्ने, फूलहरुमा पानी हाल्ने, सडक सफा गर्ने त हो.. हा.. हा.. हा.. ।
मेरो मजाक उडाइन्, मेरो बाध्यता र मेरो क्षमतामाथि यत्रो हाँसो छाडिन् यिनले… फेरि मैले अरु सोच्न नभ्याउँदै भनिन् ।
काम कुनै पनि सानो ठूलो हुँदैन, त्यो त मान्छेको सोच मात्रै हो । जसले कामको भरले मान्छेको स्तरीकरण गर्छ । भाडा माझ्नु, बढार्नु पनि ‘जब’ हो ।
आज पनि तिमीले मेरो मनमा राज गर्यौ । जति राम्री छ्यौ तिमी, त्यति नै राम्रो सोच छ तिम्रो । मेरो भविष्यमा जन्मिने छोरीको मम्मी तिमी नै भइदेउन है… । मनमनै यो कुरा सोच्दै मैले आकासतिर हेरेँ… ।
मेरो दिदी हुनुहुन्छ अमेरिकामा । उतै कुइरेसँग बिहे गरेर बस्नुभएको छ । म जर्नालिज्म पढ्न जाँदै छु अमेरिका । किनकि म जर्नलिस्ट बन्न चाहन्छु ।
जर्नलिस्ट भनेको के हो ?
उनीसँगको मेरो पहिलो बोली थियो । त्यो पल कसैले मलाई मारिदिए पनि हुन्थ्यो जस्तो लाग्यो । किनकि मैले पढ्न पाइन । पढेको भए आज जर्नलिस्ट भनेको के हो ? भनेर सोध्नुपर्ने थिएन । अनि प्रिय.. म अनपढ गवार भनेर जान्दा जान्दै किन अङ्गे्रजी शब्दमा बोल्यौ ? जर्नलिस्टको नेपाली नाम छैन ?
तिमीलाई सरल तरिकाले भन्छु ल ?
अलिकति छाँटमा आइन र भन्छिन् ।
नमस्कार.. सुरुमा मुख्य समाचार.. हा..हा.. भन्छन् नि टिभीबाट हो.. म पनि त्यस्तै बन्न चाहन्छु । (आकासतिर हेर्दै) थ्याङ गड एम्बेसीले नि भिसा दियो ।
मेरो मनले भन्यो– ‘ए एम्बेसी तैले मलाई बिर्सेर यो के गरिस्’ आज पनि उनले माक्स नखोली धेरै कुरा गरेर गइन् । उनले बाई.. बाई.. गर्दै गइन्, मैले रोक्न सकिनँ । भन्न त मलाई लागेको थियो– ‘मलाई छोडेर नजाऊ म तिमीविना बाँच्न सक्दिन’ तर अब मलाई नबाँची सुखै थिएन । ऊ पर पुगिसकेकी थिई । पर पुगेर पनि मलाई फर्केर हेरी । यस्तो लाग्यो कतैै फिल्ममा झैँ फर्केर आउँछे, हिरोको काखमा र म हिरोनीलाई मायाको काखमा बाँध्नेछु । तर त्यस्तो भएन उसले हात हल्लाई मात्र । ऊ फर्केर आइन । उनीसँगको अन्तिम भेट मेरो यही नै रह्यो ।
वैद्यखाना पुलिस बिट अगाडि ओरालोमा रोकिएर तिमीले बाई..बाई.. गरेको आज सात वर्ष बितेछ । कुन रात यसै बित्यो होला जुन रातको सपनीमा तिमी आइनौँ । सपनामा आएर भन्छ्यौ, कान्छा मलाई बोकेर हिँड अब म हिँड्न सक्दिन ।
कहिले भन्छ्यौ ‘कान्छा हामी यस्तो ठाउँमा जाउँ जहाँ तिमी र म मात्र हुन्छौँ ।’
धेरै जसो टिभीमा समाचार भनेको देख्छु । दुःखको कुरा तिमी मेरो सपनामा जब समाचार भन्छ्यौ नि त्यो बेला पनि तिम्रो मुखमा माक्स नै हुन्छ तर समाचार कति राम्रो भन्छ्यौ । तिमी किन चन्द्रमा जस्तै छ्यौ दाग हँुदा पनि मन पर्ने ?
म हरेक दिन टिभीका सारा च्यानल चेक गर्छु । कतै तिमीले समाचार भन्दै गरेकी छ्यौ कि । यदि समाचार भन्दै गरेको देख्न पाए, म तिमीलाई टिभीको सिसाबाटै चुम्नेछु । मैले टिभीलाई नै कसेर अँगालो हाल्नेछु । मलाई विश्वास छ, तिमीले पक्कै महसुस गर्नेछ्यौ । मेरो प्रेमको आगोले तिमीलाई म सँगसँगै जल्न बाध्य बनाउनेछ ।
तिमी जर्नलिस्ट भयौ कि नाई ? भयौ भने मेरो टिभीमा किन समाचार भन्दिनौँ ? कि तिमीले पनि दिदीले जस्तै कुइरेसँग घर बसायौ ?
मैले सधैँ एउटा सपना सजाएको छु प्रिय । तिमी टिभीमा समाचार भन, म सधैँ तिमी बस्ने सहर बढार्रछु । यो सहर सफा राखेर म तिम्रो मुखबाट माक्स उर्ताछु ।
Previous Articleएप्सको बढ्दो बजार
Next Article चाडै नै हामी बेहुला बेहुली हुन्छौं-छवि ओझा