अमृत बास्कुने
आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा हिमाली जिल्ला म्याग्दीमा २१ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि दल तथा स्वतन्त्र गरी ९ जना तथा प्रदेशमा छ÷छ जना गरी कुल २१ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसका खमबहादुर गर्बुजा मुख्य प्रतिस्पर्धीका रुपमा देखिनु भएको छ । सबै उम्मेदवारहरुले निर्वाचन कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रतिनिधिसभाकै लागि मंगोल नेशनल अर्गनाइजेसनबाट ओमराज मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट जगतप्रसाद गौचन, नेश्नलिष्ट पिपल्स पार्टीबाट विष्णु घिमिरे खत्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिबहादु खत्री क्षेत्री तथा विनोद भट्टचन र नविन जिसी स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एउटा मात्रै भएको म्याग्दी जिल्लामा ९ जनाले प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने देखिएको छ ।
यसैगरी प्रदेश सभा सदस्यतर्फ म्याग्दी जिल्ला प्रदेश सभा (क)मा छ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल क्षत्री, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका हरिबहादुर भण्डारी, मंगोल नेशनल अर्गनाइजेसनबाट दिपक पुन, राप्रपा नेपालबाट दुध गिरी, राप्रपा बाट प्रविन शाही र स्वतन्त्र उम्मेदवार नेत्र बहादुर महत रहुनभएको छ । महत नेपाली कांग्रेसका पूर्व सहसभापति हुनुहुन्छ ।
त्यस्तै प्रदेश सभा (ख)मा एमालेका यामबहादुर गर्बुजा, मंगोल नेशनल अर्गनाइजेसनका डेगबहादुर पुन, राप्रपाबाट मिठुकुमारी थापा, नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली, राप्रपा नेपालबाट झलकबहादुर बानियाँ र स्वतन्त्र उम्मेदवार देविन्द्र फगामीको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत एवं म्याग्दीका जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनबाट सिट बाँडफाँटको क्रममा म्याग्दीको प्रतिनिधि सभा सदस्यको पदको टिकट माओवादी केन्द्र तथा दुईवटा प्रदेश सभाको टिकट नेपाली कांग्रेसलाई परेको थियो । नेपाली कांग्रेस र माओवादीको जिल्ला पदाधिकारीको वैठकले प्रतिनिधि र प्रदेश सभाको सिट साट्ने सहमति गरेर स्वीकृतीका लागि केन्द्रीय कमिटी र गठबन्धनको संयन्त्रलाई संयुक्त रुपमा पत्राचार गरेका थिए । दुवै दलको केन्द्रीय कमिटीले जिल्लाले पठाएको निर्णयलाई सदर गर्दै जिल्लामा प्रतिनिधि सभाको टिकट नेपाली कांग्रेस र प्रदेश सभाको दुईवटा टिकट माओवादीलाई दिने गरी पठाइएको थियो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागि म्याग्दीमा कुल ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन्भने तीमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य १ जना रहेका छन् । प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा आसन्न निर्वाचनका लागि कुल ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ ।