विश्वका ठूला कम्पनीहरुले अनावश्यक बैठकहरुकै कारण समयका साथै ठूलो रकम बर्बाद गरिरहेको एक खोजीले देखाएको छ । अमेरिकास्थित नर्थ क्यारोलिना विश्वविद्यालयका प्राध्यापक स्टिभन रोजेलबर्गले गरेको एक सर्वेक्षणले ठूला कम्पनीहरुले बेकारका बैठकहरुका कारण वार्षिक करोडौं रुपैयाँ बर्बाद गरिरहेको देखाएको हो । ५ हजार भन्दा बढी कर्मचारीहरु भएको एक कम्पनीले यस्ता बैठकहरुका कारण वार्षिक १० करोड १० लाख अमेरिकी डलर बर्बाद गरिरहेको सर्वेक्षणले देखाएको ब्लुमबर्गले रिपोर्ट गरेको छ ।
जुन रकम प्रतिकर्मचारी वार्षिक २५ हजार डलर हुन आउँछ । कम्पनीहरुले बोलाउने बैठकहरुमध्ये करिब ३३% बैठकमा कर्मचारीहरुले उपस्थिति जनाउन इच्छा नगर्ने पनि सर्वेक्षणले देखाएको छ । रोजेलबर्गले २० वटा ठूला कम्पनीका ६३२ जना कर्मचारीहरुसँग उक्त सर्वेक्षण गरेका थिए । रोजेलबर्गको यसअघिको अनुसन्धानले कमजोर रुपमा व्यवस्थापन गरिएका बैठकहरुले कर्मचारीको संलग्नता घटाउने मात्र नभई काम छोड्ने मनस्थितिलाई पनि बढाउने गरेको देखाएको थियो ।
यता, कार्यस्थलसँग सम्बन्धित सफ्टवेयरका आधारमा माइक्रोसफ्ट कर्पोरेसनले निकालेको तथ्यांकले सन् २०२० फेब्रुअरी यता कर्मचारीहरुले बैठकहरुमा व्यतित गरेको समय तेब्बर बढेको छ । साथै, साप्ताहिक बैठकहरुको संख्यामा पनि दोब्बर वृद्धि भएको छ । आवश्यकता भन्दा बढी बैठकहरुका कारण कर्मचारीहरुमा दबाब बढ्ने गरेको रोजेलबर्गको सर्वेक्षणले देखाएको छ । रोजेलबर्गको सर्वेक्षणका उत्तरदाताहरुले यस्ता अनावश्यक बैठकको ७०% समयमा एकैपटक धेरै कार्य (मल्टिटास्किङ) गर्नुपरेको बताएका छन् ।