बेनी नगरपालिका–२ हाँडेभीर स्थीत पहिरो खस्दा बेनी–बागलुङ सडक खण्ड अबरुद्ध भएको छ ।
हिमाली जिल्ला म्याग्दीलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने मालढुङगा–बेनी सडक खण्डमा सडक मर्मत गर्ने क्रममा रहेकोले गर्दा हिलाम्य हुँदा साना सवारी सञ्चालनका लागि समस्या भै रहेको समयमा बेनी– बागलुङ सडक पनि अबरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्न बाध्य भएका छन् । दिउँसो बेनी बजारको खुल्ला मञ्च भन्दा ठीक पारी पट्टीको हाँडे भीरमा एक्कासी सुख्खा पहिरो खसेर सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले पहिरो पहिल्यै देखि अलिअलि झर्ने गरेकोले आज ठूलो झर्ने जस्तो देखिएपछि गाडी रोकी फिर्ता पठाउने एवम् मालढुङ्गाबाट बागलुङ हुँदै म्याग्दी आउने गाडीलाइ त्यही रोक्न लगाइएको बताउनुभयो । प्रजिअ रानाका अनुसार अहिले यताको पहिरो पन्छाएर नसकिदा सम्मका लागि मालढुङ्गा–बेनी सडक खण्डलाई फुलफेजमा सञ्चालन गरिने भएको छ । अब केही दिन पूर्ण रुपमा सडक नखुले सम्मका लागि बेनी–बागलुङ खण्डमा सवारी सञ्चालनमा समेत समस्या हुने र बेनी–मालढुङ्गा रुट प्रयोग गरेर बागलुङ जानु पर्ने अवस्था रहेको प्रजिअ रानाको भनाई छ ।
उक्त पहिरो झर्ने स्थानमा बिहान ट्याक्सीमा सामान्य क्षती भएको थियो भने केही दिन पहिला दुई जना मानिस पनि ढुङ्गाले लागेर घाइते भएका थिए ।
दिउँसो झण्डै साढे तीन बजे तीर एक्कासी ठूलो पहिरो झर्दा सडक पूर्ण रुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका हवल्दार महेश गिरीले बताउनुभयो ।