नेपालको संविधानले दिएको अधिकार प्रयोग गरेर आउने नागरिकता ऐनमार्फत नै नागरिकता वितरण गरिनुपर्ने थियो । लामो समयसम्म भएको विवाद अनि अडानलाई लत्याउँदै नागरिकता विधेयक संसदबाट बहुमतले पारित भएको छ । संसदमा सत्तारुढ दलले आफ्नो बहुमतको दम्भको आधारमा नागरिकता विधेयकलाई पारित गरेको छ । विभिन्न विवादित बुँदाहरुलाई समेट्दै पारित गरेको नागरिकता विधेयकको सन्दर्भमा नेकपा एमालेले पहिलेदेखि नै फरक मत राख्दै आएको थियो भने माओवादी केन्द्रले पनि आफ्नो अडान पछिल्लो ७ वर्ष कायम राखेको थियो । तर हालै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएर फर्किएपछि एकाएक यु–टर्न भएका छन् । दाहालले नागरिकतामा विदेशी महिलालाई नेपालीसँग बिहे गर्नासाथ नागरिकता दिने भन्नेमै सहमत भएर विधेयक पारित गराएर छाडे । नेकपा एमालेले ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिनुपर्छ भन्दै आएको भए पनि बहुमतले एमालेको मागलाई लत्याइयो ।
भारत भ्रमणपछि फेरिएको माओवादी र पुरानै कांग्रेसको गठजोडले देशलाई कुन मार्गमा लैजाने सोचेर गरे वा आफ्नो पदलाई जोगाउँदै लामो समय पदमा बस्नका लागि योजना बनाएर लागे । अहिले उनीहरुले केही भनुन्, नभनुन् तर भविष्यमा अहिलेको कदमले हुन सक्ने सम्भावित दुर्घटना र त्यसको परिणामबारे सोचे, सोचेनन् भन्ने पनि हो । भारतले संविधानमै राख्नुपर्छ भनेर दिएको सुझावको ७ वटा बुँदामध्ये सातौं बुँदामा भएको प्रावधान नेपालको संसदले कानुन बनायो । छिमेकी मुलुक भारतमै विवाह गरेर गएकी महिलाले नागरिकता पाउनका लागि ७ वर्ष पर्खिनुपर्छ । नेपालमा पनि त्यही राख्ने भनेर यस अगाडि संसदमा पेश भएको विधेयकमा राखिएको र संसदीय समितिले छलफलसहित पारित पनि गरेको थियो । तर एक्कासी त्यो विधेयक फिर्ता भएर चोर बाटो हुँदै नयाँ विधेयक दर्ता गरी त्यसलाई फाष्ट ट्रयाकको नाममा जबरजस्ती पास गरेर कानुन बनाउनु कुन हदसम्म ठिक हो होइन जनताले पक्कै बुझ्नेछन् ।
प्रचण्डको भारत भ्रमण र विधेयक फिर्ता अनि नयाँ दर्ता र पारितले पक्कै पनि केही हो भन्न सकिन्छ । देशको लागि काम गर्ने नेता हुन् वा के भन्नेतर्फ जनताले सोच्नुपर्ने अवस्था अहिले देखिएको छ । अहिले केही भयो भएन भन्दापनि अबको दिनमा हुन सक्ने सम्भावित अवस्थातर्फ पनि सोच्नुपर्ने हो । प्रधानमन्त्री देउवाको पत्नी आरजु र प्रचण्डको भारत भ्रमण अनि त्यही भएका केही छलफलका तस्विर सार्वजनिक हुनु अनि विगतदेखिको अडानमा एक्कासी आएको परिवर्तनले शंका मात्रै गरेर बस्ने अवस्था पक्कै पनि छैन । अहिले हेर्दा सामान्य लाग्ला तर यसले दीर्घकालसम्म प्रभाव पक्कै पार्छ । त्यसैले अब यसलाई आम जनता एवं सर्वसाधारणको तहबाटै देशलाई मजबुत बनाउनका लागि विदेशी बुहारीलाई जग्गेमै नागरिकता दिने तथा अन्य धेरै विवादित बुँदाहरुलाई संशोधन गर्नुपर्छ भनेर आवाज उठाउनुपर्ने आवश्यकता देखिन्छ ।