पछिल्लो समय धेरै वित्तीय संस्था र बीमा कम्पनीको संस्थापक शेयरहरु लिलामीमा आए पनि ती शेयरहरु बिकिरहेको अवस्था भने छैन । लिलामीमा भाग लिँदा न्यूनतम शेयर मूल्य नै अधिक तोकेको कारण शेयर नबिकेको सम्बन्धित विज्ञहरु बताउँछन् ।
साधारणतया नेपाल राष्ट्र बैंक र बिमा समितिले अनुमति प्रदान गरेका कम्पनीहरु नेप्सेमा संस्थापक शेयर र र साधारण शेयर गरी दुई मूल्यमा कारोबार हुन्छ । साधारण शेयरको मूल्य संस्थापक शेयरको तुलना दोब्बर तय हुने गरेको छ ।
अहिले नेपालको शेयर बजार गत १० महिनादेखि लगातार घटिरहेको अवस्था छ । बजार बियरिस ट्रेन्डमा रहेको बेला लगानीकर्ताले सकेसम्म ५२ हप्ताको न्यूनतम मूल्य वा त्यो भन्दा पनि सस्तो दरमा शेयर किन्न खोजिरहेका हुन्छन् । लिलामीको सूचना निकाल्दा नै अत्यधिक मूल्य तोकेका कारण पछिल्लो समय धेरै लिलामीको शेयर बिक्न नसकेको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिर वादे श्रेष्ठले बताए । ‘न्यूनतम मूल्य अधिक भएर नै बजारबाट रिजेक्ट भएको हो । अहिलेको अवस्थामा लगानीकर्ताले बजारलाई दिएको मुख्य सन्देश नै यही हो ।’–उनले भने ।
कम्पनीहरुले विभिन्न पाटोबाट शेयर मूल्यको विश्लेषण गर्ने गर्दछन् । कुनै पनि कम्पनीको शेयर मूल्य ५२ हप्ताको अधिकतम र न्यूनतम मूल्य हेर्ने गरिन्छ । उनले अगाडि भने– ‘कम्पनीहरुले मिनिमम बिड प्राइस जुन राखेको छ, त्यो ५२ हप्ताको न्यूनतम मूल्यतिर पनि छैन । बजार मूल्य एकदमै न्यूनतम विन्दुमा राखेको भए लगानीकर्ता आकर्षित हुने थिए । अहिले बजार ‘बियरिस’ चलिरहेको बेला लगानीकर्ताले झन सस्तोमा शेयर खोजिरहेको हुन्छन् । ५२ हप्ताको न्यूनतम विन्दुभन्दा पनि माथि बिड प्राइस राखेर लिलामीको सूचना निकालेका कारण नै धेरै लिलामीको शेयर नबिकेको हो ।’
शेयर लिलामीमा निकाल्ने कम्पनीले भने माथिल्लो मूल्यमा जति बिक्छ बिक्छ, बाँकी शेयरहरु २–३ चोटि लिलामीको सूचना निकालेर औसत मूल्यमा बेच्दै जाउँला भन्ने सोच राखेको देखिन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरलाई न्यूनतम ७ सय मूल्य राखेर लिलामीको सूचना निकालिएको छ । जबकि अहिले नेपाल लाइफको साधारण शेयर नै ७ सय ५० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । नेपाल लाइफको संस्थापक शेयर त पछिल्लोपटक ४३५ रुपैयाँमा कारोबार भएको छ । घट्दो बजारमा बजार मूल्य भन्दा बढी मूल्य तोकेर लिलामी गरेकोले नै शेयरहरु बिक्री भइरहेको छैन भने कम्पनीले बारम्बार सोही परिणाममा पुरानै शेयर बिक्रीको सूचना प्रकाशित गरिरहेका छन् । एनआईसी एसिया बैंकको संस्थापक शेयर असार ८ देखि १६ गतेसम्म प्रति कित्ता ४ सयको दरले ७ लाख भन्दा बढी कित्ता शेयर लिलामीमा चढाइयो । सो शेयर १६ गतेसम्म पनि नबिकेपछि साउन लागेपछि फेरि लिलामीको सूचना निकालिएको छ ।
‘बजार घट्दो ट्रेन्डमा रहेको बेला बढी मूल्य राखेर अक्सन निकाल्नु बजारको लागि चाँहि अलिकति अनुचित अभ्यास नै हो जस्तो लाग्छ । लिलामीको शेयर नबिक्नुको अर्थ त्यो मूल्यमा हामी किन्दैनौं भन्ने स्पष्ट सन्देश दिएको छ । नबुझेकोहरुले चाँहि फेरि पछि यो मूल्यमा पछि पाउँदै पाउँदैन भनेर उच्च मूल्यमा लिलामीमा भाग लिएको पनि देखियो । यसमा चाँहि उहाँहरुमा अवेयरनेस नभएको भन्नुपर्छ ।’–मेगा क्यापिटलका सीइओ श्रेष्ठले भने ।
पछिल्लो समय धेरै कम्पनीहरुको संस्थापक शेयर लिलामीमा आउनुमा तरलताको समस्या नै मुख्य कारण हो । व्यापार व्यवसायको आयस्रोतमै अहिले समस्या छ । आयातकर्ता व्यापारीहरुलाई बैंकले ऋण दिइरहेको अवस्था छैन । यस्तो अवस्थामा आफूसँग भएको संस्थापक शेयरलाई बेचेर नगदमा रुपान्तरण गरेको उनको अनुमान छ । त्यसैगरी अहिले धेरै कम्पनीहरु मर्जरमा जान थालेका छन् । मर्जरमा गएपछि धेरै समय पैसा होल्ड हुने गर्दछ । संंस्थापक शेयर झनै बेच्न गा¥हो हुने हुनाले मर्जर अगाडि नै शेयर बेचेर लिक्विडेड गरेको अवस्था पनि हुन सक्ने उनले बताए ।
संस्थापक शेयरहरु धेरैजसो संस्थाहरुले नै लिलामीमा बेचेको देखिन्छ । ‘संस्थाहरुले व्याज दर तत्काल घट्दैन भन्ने हिसाबले संस्थापक शेयर बेचेका हुन । अहिले संस्थापक शेयर लिलामीबाट नगदमा परिणत गरेर त्यसलाई एफडीमा राख्दा नै फाइदा देखिएको छ । अर्थतन्त्र खराव अवस्थामा रहेको अहिलेको अवस्थामा कम्पनीहरुले लाभांश दिन्छ कि दिँदैन भन्ने पनि यकिन भएन । त्यही भएर सबै संस्थापक शेयरलाई लिलामीमार्फत नगदमा परिणत गरेको जस्तो पनि देखिन्छ ।’–उनले भने ।
क्रस होल्डिङमा भएका कम्पनीहरुले पनि विस्तारै आफ्ना शेयरहरु लिलामीमा राखेको देखिन्छ । क्रस होल्डिङ भएका कम्पनीहरु मर्जरमा जाने सम्भावना अत्यधिक हुन्छ । मर्जरमा जानु अगाडि नै धमाधम संस्थापक शेयर बेचेर सुरक्षित हुने मनसायले पनि लिलामीको शेयर बढेको देखिएको छ। मेरोलगानी डटकमबाट साभार