गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता पृथ्वीसुब्बा गुरुङले मन्त्री र सांसदका आफन्तका नामको ट्रस्टमा बजेट छुट्याउँदा बदनाम भएको बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बा गोबद्र्धन शर्माको लोकतान्त्रिक आन्दोलनमा योगदान हुँदाहुँदै समय र परिस्थितिले उनको नामको ट्रस्टमा बजेट राख्दा पनि आलोचना भएको उनको भनाइ थियो ।
‘गोबद्र्धन पोखरेल कृष्णचन्द्रको मात्रै बुवा होइन, मेरो पनि बुवा हो,’ गुरुङले भने, ‘तर आज हाम्रो कामले गर्दाखेरि उहाँमाथि प्रश्न उठ्ने काम भयो । त्यस कारणले कुन बेला श्रद्धा गर्ने, कुन बेला सम्मान गर्ने भन्ने कुरा देशकाल परिस्थिति अनुसार निर्धारण हुन्छ, कसले गर्ने र कसरी गर्ने भन्ने कुराले निर्धारण गर्छ ।’
प्रदेश सरकारको विपक्षमा सामाजिक सञ्जालहरुमा विरोध भइरहँदा झन् ट्रस्टलाई बजेट छुट्याइनु कमजोरी भएको उनको भनाइ थियो । ‘प्रदेश सरकार चाहिँदैन, प्रदेश सरकार चाहिँदैन,’ उनले भने, ‘जुन काम हाम्रोतर्फबाट भयो, जे भयो, बदनाम भो, जे भो नराम्रो भो ।’ प्रदेश सरकारहरु यस्तै हुँदोरैछ, त्यसकारण चाहिएन भन्नेहरुलाई बल पुगेको गुरुङले बताए ।
प्रदेश सरकारले मुख्यमन्त्रीका पिताको नामको ट्रस्टमा ५० लाख रुपैयाँ छुट्याएको विषयमा आलोचना भएको थियो । गुरुङले त्यही प्रसंगमा उक्त अभिव्यक्ति राखेका हुन् । त्यस्तै मन्त्री मेखलाल श्रेष्ठका मातापिता, जसपा सांसद धनमाया लामा जेठाजु, माओवादी सांसद विनोद केसीका दाजुको नामको ट्रस्टमा पनि बजेट छ ।
माओवादी संघर्षका सहिद वासु वाग्लेको नाममा बजेट नआएको तर जसपा सांसद धनमाया लामाका जेठाजु भीमसेन पोखरेलको नामको स्मृति ट्रस्टमा बजेट आउँदा सांसद भएकैले त्यस्तै भएको विचार गुरुङले व्यक्त गरे । ‘भीमसेन पोखरेल हामी सबैले सम्मान गर्नुपर्ने व्यक्ति हो,’ उनले भने, ‘तर, भीमसेनसँग मारिएका वाग्ले, दुवैजनाले एकैठाउँमा सहादत प्राप्त गर्नुभयो, भीमसेनको आफ्नो मान्छे सरकारमा भा’हुनाले ट्रस्ट बन्यो, अनि वाग्लेजीको नाममा ट्रस्ट खुलेन, यहींनेर मान्छेले प्रश्न उठाएको हो ।’