गत जेठ १४ गते बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई छिराएको अभियोग लाग्दै आएका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थमन्त्री को बन्ला भन्ने चर्चा चल्न थालेको छ । ५ दलिय गठबन्धन सरकारले अर्थ मन्त्रालयको भाग नेकपा माओवादी केन्द्रमा परेकाले अबको अर्थमन्त्री पनि केन्द्रकै हुने चर्चा चल्न थालेको छ ।
शर्माको बिकल्प वर्षमान पुन हुन सक्ने नेकपा माओवादी केन्द्रका एक नेताले बताए । ‘केन्द्रमा अर्थतन्त्र बुझेको व्यक्ति पुन मात्रै भएकाले शर्माको विकल्प पुन मात्रै हुन्,’ ती नेताले भने ।
अहिले नेकपा माओवादी केन्द्रमा शर्माको बिकल्प खोज्न थालिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थमन्त्रीको बिकल्प खोज्न थालेका छन् ।
शर्माको बिकल्पमा केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई ल्याउने तयारी गरेका छन् । पुनलाई अर्थमन्त्रीको जिम्मेवार दिनु पर्ने माओवादी केन्द्र भित्रबाटै लबिङ सुरु भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको विषय बाहिर आएपछि शर्माको पार्टी भित्रै र बाहिर पनि आलोचना हुँदै आएको थियो । शर्मालाई लागेको आरोपको विषयमा छानविन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।
शर्माले आफ्नो अनधिकृत प्रतिनिधिलाई गत जेठ १४ गते मध्यराती अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य विमाको विषय, फलाम र फलामजन्य वस्तुहरुको कर, सेनिटरी प्याडको कर लगायको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएपछि उनको संसद भित्र र बाहिर आलोचना हुँदै आएको थियो ।
यता, शर्माले राजीनामा दिएपछि शेयर बजार के होला ? भन्ने कौतुहलता यतिबेला लगानीकर्तामा देखिएको छ । शर्माले राजीनामा दिएपछि शेयर बजार हरियो हुने आंकलन गरिएको छ ।
नेकपा माओवादी नेता वर्षमान पुनलाई अर्थमन्त्री बनाइएमा छोटो समयकालागि भएपनि बजार बढ्न सक्ने अनुमान लगानीकर्ताले गरेका छन् । तर त्यो दीर्घकालिन भने नहुने लगानीकर्ताको भनाई छ । यदी माओवादी केन्द्रबाट अर्थमन्त्री नभएर नेपाली काँग्रेसबाट अर्थमन्त्री हुन पुगेमा बजार अझै माथि जाने आंकलन उनीहरुले गरेका छन् । मेरो लगानी डटकमबाट साभार