कोभिड बिमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड बिमा वापतको रकम दिन बिपक्षी बिमा कम्पनीहरुको नाममा परमादेशको आदेश जारी गरेको छ ।
कोभिड बिमा सम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले असार ८ गते बिपक्षी बिमा कम्पनीहरुको नाममा आदेश जारी गरेको हो ।
कोभिड संक्रमणको बिमा गरेका बिमित उपभोक्ताले बिमा रकम पाउन नसकेको बिषयमा इन्सेक लगायत संघ संस्थामा आवद्ध नेपालगञ्जका सात जना कानुन व्यवशायी र अधिकारकर्मीहरूले ०७८ कात्तिक १५ गते उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा बिमाको रकम भुक्तानी माग राख्दै परमादेशको रिट दायर गरेका थिए ।
कोभिड संक्रमणको सुरूवाती अवस्थामा सम्भावित कोभिड संक्रमणको जोखिमलाई मध्यनजर राखेर बिमा गरेका बिमितले दावी गरेको लामो समयसम्म पनि बिमा वापतको रकम नपाएकाले बाँकेमा रहेका शिखर, शिद्धार्थ, राष्ट्रिय बिमा संस्थान लगायतका २० बिमा कम्पनीहरूले कोभिड बिमा गराए पनि सम्झौता अनुसार बिमा रकम उपलब्ध नगराए पछि समग्र मर्कामा परेका बिमितहरूको हकमा इन्सेकका भोला महत, एडभोकेसी फोरमका अधिवक्ता बसन्त गौतम, नेपाल बार एशोसिएसनका उपाध्यक्ष एवं एफडब्लुएलडीका अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ताहरू लोकबहादुर शाह, विश्वजीत तिवारी र बलबहादुर चन्दले संयुक्त रुपमा दायर गरेका थिए ।
पहिलो संक्रमणको बेला बिमा गराएका सिमित बिमितले रकम पाए पनि अधिकांशले बिमाका उपभोक्ताले बिमा रकम पाउन सकेका छैनन ।
बाँकेका बिभिन्न बिमा कम्पनी मार्फत बिमा गराएका अधिकांश ब्यक्तिहरूले बिमा रकम पाउन सकेका छैनन । बिमा कम्पनीहरूले सम्झौता अनुसारको बिमा रकम उपलब्ध नगराए पछि नेपालञ्जका अधिकारकर्मी र कानुन ब्यवशायीले त्यसको कानुनी उपचारमा जानु परेको रिट निवेदक अधिवक्ता लोक हादुर शाहले बताउनु भयो ।
बिमा कम्पनीहरूले सर्त बमोजिमको कानुनी दायित्व पुरा नगर्दा बिमित मर्कामा परेका छन् । अर्थ मन्त्रालयले बजेट निकाशा गरेको बहाना बनाइ एकले अर्कोलाई देखाएर आलटाल गर्ने तर बिमा रकम भुक्तानी प्रक्रिया अगाडी बढाएको छैन ।
रिट निवेदनको पक्षमा अधिवक्ताहरू सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, बसन्त गौतम, बिकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवलसिंह थारू लगायतले बहश गरेको थिए भने बिपक्षी बिमा कम्पनीहरूको तर्फबाट बरिष्ठ अधिवक्ता इद्रजित तिवारी, भोलासिंह हमाल र इश्वरी ज्ञवालीले बहश गरेका थिए ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज