हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने एक मात्रै राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्डको बेगखोला क्षेत्रमा हल्का मात्रै पानी परे पनि घण्टौं रोकिनुपर्ने बाध्यता यात्रुले खेप्दै आएका छन् । पानी परेपछि गत बिहीबार बेलुकादेखि बेगखोलामा पानीको बहाव बढेपछि रोकिएका सवारीसाधनहरु शुक्रबार ९ बजेपछि मात्रै जोखिम मोलेरै तारिएको थियो ।
बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका छन् । बाढीका कारण दैनिक रुपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका हुन् । २०७३ भदौ १६ गते राती आएको बाढीले बेगखोलाको वस्तीसँगै झोलुङ्गे पुल र बेलीब्रीज बगाएको थियो । बाढीले पुल बगाएको ६ वर्षसम्म पनि अस्थाायी संरचना समेत बन्न नसक्दा वर्षाको समयमा सधैँ यात्रुले सास्ती खेप्नुपर्दछ ।
बेगखोलामा बाढीमा जोखीम मोलेर खोला पार गर्दै यातायातका साधन
२०७३ सालमा बाढीले ११ घर बगाउँदा २८ महिला र २१ पुरुष गरी ४९ जना विस्थापित बनेका थिए । राष्ट्रिय महत्वका रुपमा हेरिने कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला सडक अन्तरगत बेनी–जोमसोम सडकखण्डको बेगखोलामा दैनिकजसो बिहानको समयमा गाडीको लामो लाइन लागेको हुन्छ । लेकाली क्षेत्रमा परेको पानीका कारण बेगखोलामा पानीको बहाव बढ्ने हुँदा यात्रुहरुले जोखिम मोल्नुको विकल्प नहुने स्थानीयको भनाइ छ । वर्षेनी सास्ती खेप्नु बेगखोलाको नियति भए पनि यसवर्ष असारको पहिलो सातामै बाढीले आवतजावत गर्न समस्या भएको छ । खोलामा पक्की पुल निर्माणका लागि पुलको फाउण्डेशनको काम भैरहेको र दुईवटा मात्रै पिल्लर उठाइएको भए पनि पुल चाँडो बन्न ढिलाई हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।
वर्षात्को समयमा हुने जोखिमलाई मध्यनजर गरेर प्रहरीचौकी तिप्याङको टोली बेगखोलामा तैनाथ रहने र आवश्यक परेको खण्डमा थप फोर्स जिल्लाबाट पनि थप गरेर आवतजातका लागि सहजता अपनाउने व्यवस्था मिलाउने गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन ढकालले जानकारी दिएका छन् । वर्षौंसम्म पनि बेगखोलामा पुल नबन्दा आफूहरुले सहज रुपमा यात्रा गर्न नपाएको यात्रु, पर्यटक र सर्वसाधारणहरुले गुनासो गर्दै आएका छन् ।
बेगखोलामा पानीको बहाव बढेपछि विगतका वर्षमा पैदलयात्रीलाई डोजर तथा ट्याक्टर एवं ट्रकमार्फत आवातजावत गराउँदै आएकोमा यसवर्ष पनि सोही कार्य गर्नुपर्ने अवस्था देखिन थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ आवतजावत गर्ने तथा डोल्पा र थोरङ्लापास हुँदै मनाङसम्म पुग्ने यात्रु तथा पर्यटकहरुले सास्ती खेप्नुपरेको छ । अन्नपूर्ण फेरोमा निस्कने पदयात्रीहरु पनि भूरुङ–तातोपानी हुँदै पोखरेबगर भएर बेनीतर्फ फर्कने एवं कास्कीको घान्द्रुक हुँदै नगएर म्याग्दी र मुस्ताङबाट थोरङ्लापास क्रस गरेर मनाङ छिर्ने पर्यटकलाई समेत बेगखोलाको बाढीले समस्या भएको छ ।