उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा हिँजो (आइतबार) संस्थाबाट सञ्चालनमा रहेका कार्यक्रमको बारेमा सेयरिङ सम्पन्न भएको छ । युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रम र सामुदायिक झोलुङ्गे पुलको विषयमा सेयरिङ तथा जानकारी गराइएको हो ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिसँग परिचयात्मक कार्यक्रमसहित जिल्लामा संस्थामार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको मिलन म्याग्दीले जनाएको छ । कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनले सञ्चालित कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा म्याग्दी जिल्लामा सञ्चालनमा रहेको सामुदायिक झोलुङ्गे पुलको बारेमा पनि जानकारी गराइएको थियो । सोही अवसरमा पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापनसहित सुआहारा कार्यक्रमको तर्फदेखि बधाई तथा शुभकामनापत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिला तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न र समुदायको आवश्यकताअनुसार झोलुङ्गे पुल निर्माणमा संघसंस्थासँग सहकार्य हुने बताउनुभयो ।
कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अध्यक्षता, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनको समापन र सुआहाराका फिल्ड संयोजक बालकुमारी पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापा, कोषाध्यक्ष ज्ञानुकुमारी बानियाँ केसीलगायत पदाधिकारीको सहभागिता रहेको थियो ।
यसअघि मिलन म्याग्दीको आयोजनामा पश्चिम म्याग्दीको मंगला गाउँपालिकामा पनि संस्थामार्फत सञ्चालित कार्यक्रमहरुको बारेमा जनप्रतिनिधि र कर्मचारीहरुको बीचमा सेयरिङ कार्यक्रम सम्पन्न भैसकेको छ । सन् २०१२ बाट म्याग्दीमा सञ्चालित सुआहारा कार्यक्रमको अहिले दोस्रो चरण सञ्चालनमा रहेको छ ।