गत शुक्रबार एक भारतीय जोडी छोराछोरीसहित नेपाल घुम्न आयो। काठमाडौं आएको जोडीको नेपालमा घुमाउने जिम्मा पाएको थियो, कैलाश भिजन ट्रेक्सले।
शुक्रबारको रात काठमाडौंमा बिताएका भारतीय शनिबार पोखरा गए। उनीहरूको गन्तव्य जोमसोम थियो। उनीहरू मुक्तिनाथको दर्शन गर्न आएका थिए। हजारौं किलोमिटर टाढाबाट आएका उनीहरू गन्तव्य पुग्न केही किलोमिटर मात्रै बाँकी थियो। उनीहरू चढेको तारा एयरको ट्विनअटर जहाज सम्पर्कविहीन भयो।
सोमबार बिहान मुस्ताङमा पहाडमा ठोक्किएको अवस्थामा जहाज भेटिएको छ। अहिलेसम्म १६ जनाको शव फेला परेको छ। बाँकीको शव खोजी हुँदैछ।
तारा एयरको जहाजमा नेपालका पनि दुई परिवारका ११ जनाको मृत्यु भएको छ। संयोग नै मान्नुपर्छ, ज्यान गुमाउने चार भारतीय पनि एकै परिवारका छन्।
वैभवी बान्डेकर, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी र ऋतिका त्रिपाठी जहाज दुर्घटनामा परेका हुन्।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार त्रिपाठी परिवार मुम्बईदेखि आएको हो।
द इन्डियन एक्प्रेसका अनुसार ५१ वर्षीया वैभवी मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा काम गर्थिन्। उनका श्रीमान् ५३ वर्षका अशोककुमार ओडिसामा काम गर्थे। २४ वर्षका धनुष र १५ वर्षकी ऋतिका आमासँग मुम्बईमै बस्थे।
वैभवी र अशोककुमार वैवाहिक जीवनबाट अलग भएका थिए।
वैभवीकी बहिनीको भनाइ उद्धृत गर्दै इन्डियन एक्प्रेसले अदालतले वर्षमा १० दिन छोराछोरीले बाबुसगै बिताउनु पर्ने आदेश दिएको उल्लेख गरेको छ।
‘त्यही १० दिनको समयमा उनीहरूले यसपालि नेपालको मुक्तिनाथ पुग्ने योजना बनाएका थिए,’ वैभवीकी बहिनीले स्थानीय प्रहरीलाई भनेकी छन्।
समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार वैभवीकी ८० वर्षकी आमा सिकिस्त बिरामी छन्। आमाको गम्भीर स्वास्थ्य अवस्थाका कारण जहाज दुर्घटनाको खबर उनलाई नसुनाएको बहिनीले बताएकी छन्। सेतोपाटीडटकमबाट