देशको आमुल परिवर्तनका लागि नेकपा एमाले नै आवश्यक रहेको हुनाले स्थानीय तह निर्वाचनमा जित्नुको विकल्प नरहेको नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले बताएका छन् ।
नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको अयोजनामा रघुगंगा गाउँपालिका–१ बेगखोलामा भएको चुनावी कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले एमाले बिना देशको परिवर्तन सम्भव नभएको बताएका हुन् । देशको आमुल परिवर्तन र दिगो शान्तिका लागि एमाले बाहेक अरुले केही गर्न नसक्ने अहिले सम्मको अवस्थाले देखाएकोले स्थानीय तह प्रदेश र संघ सबै निर्वाचन एमालेले जित्नु पर्ने श्रेष्ठको भनाई थियो । श्रेष्ठले भने स्थानीय तहबाट जित्न सुरुआत गरेर प्रदेश तथा प्रतिनिधिसभा पनि एमालेले विजय हासिल गर्नु पर्ने बताए ।
नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले रघुगंगा गाउँपालिकामा अराजकता र भ्रष्टाचारले सिमा नाघी सक्न लागेको बताए । सुवेदीले अराजकता र भ्रष्ट मानसिकतालाई हराएर त्यो प्रबृत्तीलाई हटाउनु पर्ने धारणा राखे । सुवेदीले भने अहिले भ्रष्टाचार अनि अराजकता रघुगंगामा बढेको छ र त्यसका बिरुद्धमा पछिल्लो पाँच वर्ष देखि हाम्रा अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्कीले उठाउँदै आउनु भएको छ । भ्रष्टाचारको बिरुद्धमा सँधै आवाज उठाउने कार्की रघुगंगाको अध्यक्षको प्रत्यासी हुनुभएकोले उहाँले जित्नुको विकल्प छैन उपाध्यक्ष सुवेदीले भने ।
कार्यक्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की(दिपक विखर्ची), उपाध्यक्षका उम्मेदवार यामकुमारी गर्बुजालगायतले मन्तव्य राखेका थिए ।
वडा कमिटी अध्यक्ष नरसिंह पुनको अध्यक्षतामा भएको कार्यक्रम, जिल्ला कमिटी सल्लाहकार सदस्य विरबहादुर तिलिजाको स्वागत र नेकपा एमाले निर्वाचन परिचालन कमिटी रघुगंगा गाउँपालिकाका संयोजक झलक शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा रघुगंगा–१ बेगखोलाको मणिबराह आमा समूहले नेकपा एमालेको प्रचार टोलीलाई नृत्य प्रस्तुत गरेर स्वागत गरेको नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीका सचिव झलक शर्माले बताए । कार्यक्रममा स्थानीयले स्वागत गर्नुकासाथै सक्रिय सहभागिता जनाएको शर्माले जानकारी दिए ।