नेकपा एकिकृत समाजवादीका बेनी नगर कमिटी अध्यक्ष मुक्ति पाईजा पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
शनिवार नेकपा एमालेले बेनपा १० को वाखेतमा आयोजना गरेको चुनावी सभाको अवसरमा पाईजा नेकपा एस छोडि आफ्नै पुरानो घर नेकपा एमालेमा फर्किनुभएको हो ।
पाईजा जनजाति महासंघका जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो । त्यस्तै सोहि अवसरमा नेकपा माओवादी केन्द्र परित्याग गरि दलित अगुवा केश बस्याल पनि नेकपा एमालेमा समाहित हुनुभएको छ । बस्याल २०५७ साल देखि माओवादी पार्टीमा आवद्ध हुनुहुन्थ्यो ।
पाईजा र बस्याल दुवैजना पात्लेखेतका सामाजिक अगुवा तथा सक्षम नेता हुनुहुन्छ । पाईजाले एकिकृत समाजवादीबाट वडा नम्वर १० को अध्यक्ष पदमा समेत उम्मेदवारी दिनुभएको थियो । अवको राजनैतिक यात्रा नेकपा एमालेको विचार र सिद्धान्तमा आवद्ध भएर अगाडि बढाउने उहाँहरुको भनाई छ ।
नेता द्वयलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज भूपेन्द्र थापा, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, सन्तोष रावल, मेयरका उम्मेदवार सुरत केसी, उपमेयरका उम्मेदवार पशुपति शाही, जिल्ला कमिटी सदस्य डि.पी. शर्मा, नगर कमिटी अध्यक्ष नारायण जिसी लगायतले अविर र फुलमाला लगाई भव्य स्वागत गर्नुभएको छ ।
आसन्न स्थानीय तहमा पात्लेखेतमा एमालेको जित हाँसिल गराउन सक्रिताका साथ चुनावी अभियानमा लाग्ने पाईजा र वस्यालले बताउनुभयो ।