स्थानीय तहको निर्वाचन नजिकै आएको छ । २०७२ सालमा संविधान सभाबाट संविधान जारी भएपछि पहिलोपटक स्थानीय तहको निर्वाचन भएको थियो । त्यसपछि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भयो । तत्कालीन अवस्थामा भएका विषम परिस्थितिहरु झेल्नका लागि कुनै दलले आँट नगर्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले खरो रुपमा राष्ट्रियताको सवालमा जनताको पक्षमा बोलेर नेतृत्व लिएका थिए । देशको नेतृत्व लिनका लागि राजनेता नै चाहिन्छ । केपी ओलीले देश सानो वा ठूलो होला तर राष्ट्रियता सबैको बराबर हुन्छ भन्ने पाठ पढाउन यदि कसैले सक्यो भने त्यो केपी शर्मा ओली नै थिए । तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीले संविधान जारी भएसँगै भएको अघोषित नाकाबान्दीलाई खुलेर नाकाबन्दी भन्दै छिमेकीको घाँटी अठ्याउने छिमेकी हुनै नसक्ने भन्दै चुनौती दिएका थिए । ओली नाकाबन्दीको समयमा प्रधानमन्त्री चयन भए र नाकाबन्दी नझुकेर खुलाएरै छाडे । भारत भ्रमणका लागि निम्तो आउँदा नाकाबन्दी खोलेपछि मात्रै आफ्नो भ्रमण हुने भन्दै भारतको निम्तोलाई पनि अस्वीकार गरेका थिए ।
एमाले नेतृत्वमा भएका कामहरुलाई मन पारेरै तत्कालीन स्थानीय तहको निर्वाचनमा जनताले पहिलो पार्टी एमालेलाई बनाएका थिए । स्थानीय तहमा धेरै स्थान जितेको एमालेले प्रतिनिधि सभामा पनि प्रत्यक्षतर्फ करिब बहुमत नजिक पुगेको थियो भने समग्रमा पनि पहिलो पार्टी बनेको थियो । एमालेले सबै निर्वाचनमा पहिलो स्थान हासिल मात्रै गरेन अध्यक्ष ओली दोस्रोपटक प्रधानमन्त्री समेत बने । ओलीको प्रधानमन्त्रीकालमा देश विकासको खाका बन्यो भने मुलुकभरका सडकहरु फराकिला बन्दै गए । युवाहरुलाई रोजगारीको अवसरहरु सिर्जना हुन थाल्यो । सबैतिर एमालेको माहौल देखेपछि अन्य दलहरुमा खैलाबैला मच्चियो र सरकारमा पुगेको तीन वर्षमै नेकपाभित्रै विवाद निकालेर सत्ताबाट बाहिर पठाउने खेल भयो । अदालतको समेत मिलेमतोमा परमादेशमार्फत ओली सत्ताच्युत भए र पाँचदलीय गठबन्धनले सरकार सम्हाल्न पुग्यो । अहिले तीनै पाँच दलका नाउँमा देशमा अराजकता बढ्दैछ ।
स्थानीय तहको निर्वाचनका लागि मतदान गर्ने दिन आउन अब २४ दिन बाँकी छ । योग्यता पुगेका उम्मेदवारहरुले उम्मेदवारी दिनेछन् भने कतिपयले अनुभव पनि गर्ने मौका हो । अहिलेसम्म देशैभर गठबन्धनविरुद्ध एमाले भएको कारणले गर्दा गठबन्धनको उम्मेदवारी चयनमा सकस हुनु स्वभाविक हो तर एमालेभित्रै पनि उम्मेदवार चयनमा सकस हुँदा मतदातामाझ कहिले पुग्ने भन्ने सवाल पक्कै हो । म्याग्दीका ४३ वडाका अध्यक्षको उम्मेदवार एमालेले टुङ्गो लगाएको भए पनि बाँकी २ वडामा कहिले गर्ने ? एमाले मात्रै नभएर अरु दलहरुले पनि उम्मेदवार छान्न सकेका छैनन् । त्यसैले पनि मतदाताकोमा पुगेर भोट माग्ने कहिले हो ? एमालेले धवलागिरि गाउँपालिका र बेनी नगरपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार छान्न सकेको छैन । यसले पनि अन्यौलता थप्न सक्छ, त्यसैले एमालेसँगै सबै दलहरुले आफ्नो उम्मेदवार टुड्डो लगाएर मतदाताको पक्षमा काम गर्नेगरी योजना बनाएर चुनाबी मैदानमा होमिन सकेमा सबैलाई राम्रो हुने देखिन्छ ।