नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको प्रमुखमा एमालेबाट चारजना आकांक्षीहरुको नाम सिफारिस गरेको छ । हिँजो (मङ्गलबार) सम्पन्न एमाले बेनी नगर कमिटीको वैठकले नगरपालिकाको प्रमुखमा प्रमोद श्रेष्ठ, सुरत केसी, सन्तोष रावल र नारायण जिसीको नाम जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो ।
यसैगरी उपप्रमुखमा पनि चारै जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा पशुपति शाही, विष्णु गुरुङ, भावना पौडेल र गौरी थापामगर रहेको नेकपा एमाले बेनी नगर कमिटीले जनाएको छ । वैठकमा छलफल गर्दा प्रमुख र उपप्रमुखका आकांक्षीहरु धेरै देखिएर टुङ्गो नलागेपछि जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको हो ।
वैठकमा पेश गर्नु अगाडि पनि नगर कमिटीभित्र छलफल गरेर उम्मेदवारहरुको नाम पठाउन नगर कमिटीलाई निर्देशन दिइएको नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले जानकारी दिए । जिल्ला कमिटीमा नाम पेश भैसकेपछि आकांक्षीहरुबीच छलफल गरी उम्मेदवार टुङ्गो लगाइने उनले बताएका छन् । पार्टी जिल्ला कमिटीले पनि उम्मेदवारको टुुङ्गो लगाउन नसकेपछि आकांक्षीहरु सबैको नाम पार्टीको गण्डकी प्रदेश कमिटीमा पठाउने जनाइएको छ ।
यसैबीच आसन्न स्थानीय तह निर्वाचनका लागि एमालेले सर्वसम्मत रुपमा उम्मेदवारहरु चयन गर्न थालेको छ । पछिल्लो जानकारीअनुसार हालसम्म बेनी नगरपालिकाको रत्नेचौरमा टेकबहादुर थापा, भकिम्लीमा गेमबहादुर घर्ती, सिङ्गामा देवेन्द्रबहादुर बानियाँ, अर्थुङ्गेमा कृष्णसिं बानियाँ, बेनी ७ मा राजेन्द्रकुमार श्रेष्ठ, ८ मा उत्तमकुमार कर्माचार्य र पात्लेखेतमा मसबिर रोकालाई वडा अध्यक्षको उम्मेदवार टुङ्ग्याएको एमाले म्याग्दीका सचिव सुरत केसीले बताए ।
यसैगरी अन्नपूूर्ण गाउँपालिकाको अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमालेले जनाएको छ । अन्नपूर्णको दोवामा दिलिप पुन, दानामा रमेश पुन, शिखमा बिसन राना, घारमा भक्तबहादुर खड्का, हिस्तानमा माईलन पूर्जा र राम्चेमा खमबहादुर पुनलाई वडा अध्यक्ष बनाइने भएको छ । त्यस्तै रघुगंगा गाउँपालिकाको बेगखोलामा धनबहादुर गर्बुजा, राखुभगवतीमा अमृत भण्डारी, दग्नाममा ईन्द्रमान थजाली, झिँमा तेजु शेरपुञ्जा, पाखापानीमा समशेर पाईजा र चिमखोलामा रिम पाईजालाई उम्मेदवार बनाइएको छ ।
एमालेले मंगलाको कुहुँमा एकजित रोका, मंगला–३, बराङ्जामा कविन्द्र रोका र ४ नम्बरमा थमबहादुर रोकालाई वडा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । त्यस्तै मालिका गाउँपालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, वडातर्फ निस्कोटमा बुद्धि पुन, मालिका–३, रुममा मनबहादुर बुढा, ओखरबोटमा गोपाल कँडेल, देवीस्थानमा कुलबहादुर घर्ती, दरबाङमा सन्तोष सुवेदी र विममा तिलक पुनलाई वडा अध्यक्षका रुपमा अगाडि सारिएको छ ।
धवलागिरी गाउँपालिकाको अध्यक्षमा पनि एमालेबाट चारजना आकांक्षी देखिएका छन् । उम्मेदवार टुङ्गो लगाउन बसेको पालिका कमिटीको वैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होमबहादुर थापा र रेशम छन्त्यालले दावी प्रस्तुत गरेका हुन् । चारै जनाले दावी नछोड्ने अडान लिएपछि पालिका कमिटीले आकांक्षीहरुको नाम पार्टी जिल्ला कमिटीमा सिफारिस गरेको जनाएको छ ।