नेकपा एमाले मंगला गाउँपालिका कमिटीको आयोजनामा हिँजो (सोमबार) बाबियाचौरमा पालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सरकारले घोषणा गरेको वैशाख ३० गते एकै चरणमा हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीमा एमालेले पालिकाकेन्द्रीत अभियानलाई तीव्र बनाएको हो । अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्ने एमालेका नेताहरुले आगामी निर्वाचनबाट पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा स्थापित बनाउनुपर्नेमा जोड दिएका छन् ।
पालिका भित्रका अगुवा नेता तथा कार्यकर्ताहरु सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम तथा कार्यदिशाको बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा उनले नेकपा एमाले नेपालको पहिलो राजनैतिक शक्ति रहेको र यसलाई अझै मजबुत शक्तिको रुपमा स्थापित गर्नका लागि सबै तहका नेता तथा कार्यकर्ताहरुको अहम भूमिका हुने बताएका थिए ।
सचिवालय सदस्य श्रेष्ठले पार्टीभित्र कुनै पनि द्विविधा र विभाजन नरहेको हुँदा कम्युनिष्ट पार्टीको मूलधार भनेकै नेकपा एमाले भएकाले कम्युनिष्ट विचार मान्ने सबैको मुख्य थलो एमाले रहेकोमा जोड दिए । उनले आगामी निर्वाचनबाट पनि एमालेलाई पुनः पहिलो शक्ति बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले पार्टीको सङ्गठनलाई सुदृढीकरण गरेर अगाडि बढ्नुपर्ने बताए । उनले नेकपा एमाले मजबुत सङ्गठन र प्रतिबद्ध कार्यकर्ताहरुको पार्टी भएको बताउँदै सबै तह र तप्कामा एमालेको सङ्गठनलाई मजबुतका साथै स्पष्ट खाकासहितको योजना बनाउन सक्ने पार्टीको रुपमा स्थापित गराउनुपर्ने बताएका छन् । ‘कुनै पनि पार्टी बलियो हुनका लागि उसको सङ्गठन बलियो हुनुपर्ने हुन्छ, त्यो सङ्गठन एमालेमा मजबुत छ र यसलाई अझै चुस्त बनाई चुनावकेन्द्रीत भएर अगाडि बढ्नुपर्छ’ उपाध्यक्ष सुवेदीले भने ।
नेकपा एमाले म्याग्दीका उपसचिव राजकुमार थापाले स्थानीय तह निर्वाचन–२०७९ नजिकिँदै गएकोले त्यसलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने विषयमा सबैले ध्यानकेन्द्रीत गरेर अगाडि बढ्नुपर्ने बताए । उनले गएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले मुलुकको पहिलो पार्टी थियो र त्यसपछि पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एवं राष्ट्रिय सभामा पनि एमाले पहिलो पार्टी भएकाले त्यो विरासत जोगाउनु अहिलेको मूल लक्ष्य भएको बताए । स्थानीय तहका प्रमुख, उप–प्रमुखले राष्ट्रिय सभा सदस्य एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत मतदान गर्ने भएकोले एमालेलाई राज्यको मूल पार्टी र मूलधारमा टिक्नका लागि स्थानीय तहमा एमालेले जित्नैपर्ने उनको भनाइ छ ।
एमालेको भेला तथा प्रशिक्षण कार्यक्रम एमाले मंगला गाउँपालिका कमिटीका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता, उपाध्यक्ष प्रेमा अधिकारीको स्वागत र सचिव चिरञ्जीवी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा मंगला गाउँपालिकाको विभिन्न वडाबाट एमालेका नेता तथा कार्यकर्ताहरुले उल्लेख्य सहभागिता जनाएका थिए ।