विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिमका कारण प्रायः सुनसान जस्तै बनेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा चहलपहल बढ्दै जान थालेको छ । कोरोना भाइरसको जोखिम कम हुँदै गएको हुँदा मुस्ताङको मुक्तिनाथमा पछिल्लोपटक दर्शनार्थीको चहलपहल बढेको हो ।
हिमालपारीको जिल्लाका रुपमा चिनिएको मुस्ताङको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दुई वर्षको अवधिमा सबैभन्दा धेरै दर्शनार्थीहरु आउन थालेका छन् । कोभिड–१९ को सुरुवातसँगै यसअघि बन्द भएको मन्दिरमा दर्शनार्थीको आगमन कोभिडको दोस्रो लहरभन्दा पहिला केही समय खुलेको अवस्थामा भएको थियो । पछि पुनः जोखिमले मन्दिर बन्द भएपछि अहिले खुल्दा दर्शनार्थीहरुको चाप निकै बढेको जनाइएको छ ।
‘हिन्दु तथा बौद्ध धर्माबलम्बीहरुको साझा पवित्र धार्मिक तीर्थस्थलको रुपमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीहरु अहिले दैनिक १ हजार ५ सयभन्दा बढी पुग्ने गरेका छन्’– मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने । प्रजिअ शर्माका अनुसार अहिले दैनिकजसो स्थल तथा हवाई मार्गबाट मुक्तिनाथ दर्शनकै लागि भनेर धार्मिक पर्यटकहरु आउने गरेका छन् । हवाई मार्गबाट मुस्ताङ प्रवेश गर्ने झण्डै ८० प्रतिशत र स्थलमार्गबाट पनि ५० प्रतिशतको हाराहारीमा भारतीय नागरिकहरु मुक्तिनाथ दर्शनका लागि आएको तथ्याङ्क प्रहरीको रेकर्डमा उल्लेख गरिएको प्रजिअ शर्माको भनाइ छ ।
सन् २०१९ को अन्तिममा कोभिड सुरु भएपछि यति धेरै भीड मन्दिरमा नदेखिएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कार्यालय सचिव रविन सुवेदीले बताए । सुवेदीले भने, ‘अहिले पछिल्लो एक हप्ता दैनिक रुपमा दर्शनार्थीहरुको भीड बढ्दो गतिमा रहेको छ । पछिल्लो करिब साढे दुई वर्षको बीचमा यति धेरै भीड मुक्तिनाथ मन्दिरमा देखिएको थिएन ।’ यसपटक मुक्तिनाथ मन्दिरमा दर्शनकै लागि आउनेहरु हवाई मार्गबाट अधिक रहेको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माले बताए । उनले हवाई मार्गबाट आउने यात्रुमध्ये अधिकांश भारतीय मुलका आउने गरेको र सबैजसो मुक्तिनाथ मन्दिर दर्शनकै लागि पुग्ने गरेको जानकारी दिए ।
मुक्तिनाथका पर्यटन व्यवसायी अमृत सुवेदीले विगत साढे दुई वर्षको अवधिमा हेर्दा पर्यटकहरुको भीडभाड अहिले देखिएको अनुभव सुनाउँछन् । होटल अन्नपूर्ण इनका सञ्चालक समेत रहेका व्यवसायी सुवेदीले आफ्नो होटलमा अग्रिम कोठा बुकिङहरु पनि हप्ता दिनभन्दा पहिलादेखि नै हुने गरेको जानकारी दिएका छन् ।
मुस्ताङमा मुक्तिनाथ मन्दिरसँगै कागेबेनीमा पितृ उद्धारका लागि पनि धार्मिक तीर्थयात्रीहरु श्राद्ध गर्न समेत जाने गरेका छन् । कागबेनीमा श्राद्ध गर्न खासगरी सोह्रश्राद्धको समयमा अधिकांश हिन्दु धर्मावलम्बीहरुको भीड लाग्ने गरेको स्थानीयको भनाइ छ । यहाँ श्राद्ध गरेपछि धर्मावलम्बीहरु मुक्तिनाथको दर्शन गर्न पुग्ने गर्दछन् ।
मुस्ताङमा मुक्तिनाथ मन्दिरको साथै धुम्बाताल, यारुजो डाँडा, मार्फाको स्याउ बगैंचा, उपल्लो मुस्ताङ र मुस्ताङ–तिब्बत कोरला नाकासम्मै पर्यटकहरु पुग्ने गरेका छन् । पछिल्लो समय दैनिकजसो पर्यटकको आगमन बढेपछि होटल व्यवसायी उत्साहित भएका छन् ।