स्थानीय चुनावलाई लक्षित गरेर नेपाली कांग्रेस म्याग्दीले शनिबार जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । सदरमुकाम बेनीमा एक महिने अभियान अन्तरगत आयोजित प्रशिक्षण कार्यक्रमको कांग्रेस म्याग्दीले उद्घाटन गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सभापति शुक्रराज शर्माले कम्युनिष्टले अघिल्लो चुनावमा विकास तथा आर्थिक समृद्धिको नारा बाँडेर जनतालाई भोट मागी बीचमै लगेर सरकार अलपत्र पारेको आरोप लगाए । उनले पहुँचभन्दा लोकप्रियताको आधारमा पार्टीमा उम्मेदवारको छनौट गरिने बताउँदै विभिन्न पदमा उम्मेदवारका आकांक्षीहरु नेताको घरमा धाइरहनु नपर्ने हुँदा जनताको माझबाट आउन निर्देशन दिए ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्काले अभियानमार्फत गाउँघर, टोलमा पुगेर सरकारले गरेका कामको प्रचारप्रसार गर्न अनुरोध गरिन् । ‘कांग्रेसको पक्षमा माहोल छ, ‘हाम्रो पार्टीको विरुद्धमा छरिएको भ्रम जनताबाट हटाउनुपर्छ’ उनले भनिन् । भेलामा गण्डकी प्रदेश कार्यसमितिका महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ, विष्णु लामिछाने र सहमहामन्त्री कोपिला रानाभाटले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउनुको साथै संविधानको रक्षाका लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्नुपर्नेमा जोड दिएका थिए ।
प्रशिक्षणमा संविधान सभाका सदस्य रेशमबहादुर बानियाँ, उपसभापति केबि भण्डारी, पूर्व सहसभापति नेत्रबहादुर महत, नेपाली कांग्रेस प्रदेश ‘क’ सभापति ओम छन्त्याल र जिल्लाको ६ वटै पालिकाका कांग्रेस पार्टी समितिका सभापतिले बोलेका थिए । सभापति खमबहादुर गर्बुजाको अध्यक्षता, उपसभापति हरिकुमार श्रेष्ठको स्वागत र सचिव भरत रकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाली कांग्रेसले गाउँ अभियानसँगै भातृ संस्थाले वडा र टोलस्तरमा समेत सङ्गठन विस्तार तथा प्रशिक्षण गरिरहेका छन् ।