प्रत्येक दिन केही न केही प्रसंगमा महत्वपूर्ण हुन्छ भन्ने त सबैले याद गरिरहेकै कुरा हो । किनभने मानिस जन्मेदेखि मृत्युपर्यन्तसम्म पनि कुनै न कुनै हिसाबले प्रत्येक दिनलाई महत्वपूर्ण बनाउनका लागि नै खटिरहेको हुन्छ । विभिन्न पेशा, व्यवसाय, धर्म, संस्कृति अनि बाबुआमा तथा दाजुभाइ सामाजिक सद्भाव सबैको दिन हुँदै जाँदा आजको दिन नारीहरुको लागि महत्वपूर्ण दिन हो । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । आमाको काख, दिदीबहिनीको स्नेह, श्रीमती अनि मायालुको माया यी सबै नारीपात्रमा निहित प्रगाढ मायाको च्यादरभित्र नै सिंगो समाज छ । सबै समाजलाई चलायमान बनाउने अनि न्यानो काखको प्रतिमूर्ति नारीहरुको दिवस । महिलाहरुको जागरण अनि उनीहरुकै अपनत्वका लागि आजको दिन नारी दिवस मनाइँदै छ । ‘सामाजिक न्याय र लैड्डिक समानताः दिगो विकासको सुनिश्चिततता’ भन्ने मूल नाराका साथ यस वर्षको नारी दिवस मनाइँदैछ ।
विश्वभर आजको दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरेर आर्थिक, सामाजिक लगायतका विकास तथा विभिन्न प्रकारका आयामहरुमा नारीको सक्रियता र नारीले गरेको योगदान तथा नारीको अधिकारको विषयमा छलफल तथा प्रवचन हुने गर्दछन् । विश्वका विकसित र अविकसित सबै देशमा नारीमाथि थोपरिएको अस्वभाविक व्यवहार सबैलाई अवगत भएकै छ । जबसम्म कसैले पनि आफ्नो मन भित्रैबाट कर्तव्यबोध गर्दैन तबसम्म कुनै पनि हालतमा नारी अधिकारको नारा फलाकेर मात्र हुनेवाला छैन । अधिकार खोज्नेले कर्तव्य पनि भुल्न भने पक्कै हुँदैन तर पनि अधिकार मात्र नभएर कर्तव्यको पनि बोध गर्नुपर्दछ । अधिकारको लागि धेरै आन्दोलन भए र त्यही आन्दोलनको बलमा अधिकार पाइयो होला तर त्यसपछिको कर्तव्य पालना गर्न सकियो कि सकिएन भन्ने मुख्य कुरा हो ।
विश्वमा भएका धेरै घटनाक्रमले त्यसलाई कुनै पनि हालतमा पालना गर्नुपर्ने अवस्था बनाएको भए पनि नेपाली अवस्था हेर्ने हो भने नारीको स्थानलाई कमजोर मान्न सकिदैन । राष्ट्रप्रमुख नारी रहेको नेपालमा सभामुख तथा प्रधानन्यायाधीश पनि नारीले चलाइसकेको अवस्था हो । अहिले पनि प्रत्येक स्थानीय सरकारमा पनि नारीको उपस्थिति निकै राम्रो देखिएको छ । कुनै पनि हालतमा नारीको अवस्था अनि नारीको सक्रियता र उनीहरुको सहभागितालाई हेर्ने हो भने नेपालका नारीलाई हेरेर विश्वले सिक्नुपर्ने हुन्छ । नेपालमा नारीले पाएको स्थान अनि नारीमा भएको प्रगति हेर्दा विश्व पनि चकित भएकै हुनुपर्छ । अन्यत्र जे जस्तो भए पनि नेपालमा नारीको उच्च सम्मान र असीमित अधिकार प्राप्त नारीहरुलाई नारी दिवसको हार्दिक शुभकामना ! आफ्नी आमालाई सम्मान गर्ने अनि दिदीबहिनीको माया लाग्नेहरुलाई किन अरुका छोरीप्रति भने गिद्धे नजर लगाउँछन् भन्ने आरोपलाई अब नलाग्ने तरिकाले प्रत्येक व्यक्तिले आफूलाई परिवर्तन गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ ।