म्युचुअल फण्डहरुले आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तको मासिक विवरण सार्वजनिक गरी सकेका छन्। हाल २५ बन्दमुखी र ४ खुलामुखी गरी कुल २९ म्युचुअल फण्ड संचालनमा रहेका छन्। बन्दमुखी योजनाहरु नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोश्रो बजारमा कारोबार हुने गर्दछन् भेन खुलामुखी योजनाहरुको सम्बन्धमा प्रत्येक कारोबार दिन योजना व्यवस्थापकले खुद सम्पत्ति मुल्यको आधारमा योजनाको ईकाइ खरिद तथा बिक्री मुल्य निर्धारण गर्ने गर्दछन् र सोही मुल्यमा सर्वसाधारणले कारोबार गर्ने गर्दछन्। मंसिर मसान्त सम्ममा कुल ३० म्युचुअल फण्ड रहेकोमा पौष २२ गते नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड द्वारा प्रवर्द्धन गरिएको एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित बन्दमुखी एनआईबिएल समृद्धि फण्ड -१ (NIBSF1) को इकाई परिपक्व भई हाल २९ योजनाहरु संचालनमा रहेका छन्। माघ महिनाको विवरण अनुसार म्युचुअल फण्डहरुले १ महिनामा रु.१.६५ अर्ब गुमाएका छन् जुन अघिल्लो महिना कायम रहेको कुल सम्पत्तिमा ४.३१% को गिरावट रहेको छ। यस्तै, पौष महिनामा फण्डहरुले रु.१.६५ लाख कमाएका थिए जुन अघिल्लो महिना कायम रहेको कुल सम्पत्तिमा ४.५% को वृद्धि रहेको थियो। उक्त वृद्धिमा परिपक्व भइसकेको NIBSF1 लाई समावेश नगर्दा भने वृद्धि १५.२८% हुन आउछ। पौष मसान्त सम्ममा २९ म्युचुअल फण्डहरुको रु.३०.१६ अर्ब कुल लगानी रहेकोमा माघ मसान्त सम्ममा फण्डहरुको लगानी घटेर रु.२८.९६ अर्बमा झरेको छ। अघिल्लो महिना फण्डहरुले कुल लगानीको ८९.८८% कम्पनीहरुको धितोपत्रमा गरेका थिए भने माघ मसान्तमा उक्त लगानी ८९.३०% पुर्याएका छन्। फण्डहरुले अन्य १०.८०% रकम भने बैंक वित्तिय संस्थाहरुको मुद्दती निक्षेपमा गरेका छन्। म्युचुअल फण्डहरुले आफ्नो योजनाको आकार वा लगानी गर्दाको समयमा कायम रहेको खुद सम्पत्ति मुल्यको न्युनतम १५% बैंकको मुद्दती निक्षेपमा लगानी गर्न पाउने प्रावधान रहेको छ। म्युचुअल फण्डहरु मध्ये सबै भन्दा धेरै लगानी रहेको सिद्धार्थ इक्विटी फण्ड (SEF) को रु.१.९२ अर्ब रहेको छ। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित फण्डले ९८.४४% धितोपत्र बजारमा गरेको छ भने १.५६% लगानी मुद्दती निक्षेपमा गरेको छ। कुल लगानीको हिसाबले रु.१.७४ अर्ब लगानी रहेको सानिमा इक्विटी फण्ड (SAEF) दोश्रो स्थानमा रहेको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित फण्डले ९२.५५% धितोपत्र बजारमा गरेको छ भने ७.४५% लगानी मुद्दती निक्षेपमा गरेको छ। यस्तै, रु.१.२५ अर्ब योजना आकार रहेको एनएमबि फिफ्टी (NMB50) तेश्रो स्थानमा रहेको छ। फण्डले कुल लगानी रु.१.६७ अर्बको ८८.७८% धितोपत्र बजारमा गरेको छ भने ११.२२% लगानी मुद्दती निक्षेपमा गरेको छ। यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ (SIGS2), नबिल इक्विटी फण्ड (NEF), नबिल ब्यालेन्सड् फण्ड २ (NBF2) को पनि कुल लगानी रु.१ अर्ब ४० करोड भन्दा माथि रहेको छ। त्यस्तै, म्युचुअल फण्डहरु मध्ये न्युन लगानी गर्नेमा हाल सालै सर्वसाधारणमा ईकाइ बिक्री गरेका खुला मुखी योजाना सिद्धार्थ व्यवस्थित लगानी योजना (Siddhartha Systematic Investment Scheme) र एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड (NIC Asia Dynamic Debt Fund) रहेका छन्। रु.२०.५० करोड योजना आकार रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना फण्डले रु.१८.१९ करोड लगानी गरेको छ जसमा ८३.५१% धितोपत्रमा रहेको छ। यस्तै, रु.४९.८२ करोड योजना आकार रहेको एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले रु.३७.७१ करोड करोड मात्र लगानी गरेको छ जसमा ८४.०९% धितोपत्रमा रहेको छ। यसैगरी, एनएमबि सरल बचत फण्ड-इ (NMB Saral Bachat Fund – E), एन आई सी एशिया सेलेक्ट-३० फण्ड (NICSF), एनआईबिएल सहभागिता फण्ड (NIBL Sahabhagita Fund) लगायतका योजनाहरुको न्युन लगानी रहेको छ। म्युचुअल फण्डहरुले लगानी गर्दा नेपाल धितोपत्र बोर्डबाट तोकिएको निश्चित क्षेत्रमा मात्र लगानी गर्नुपर्ने हुन्छ जसमा बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र विनियम बजारमा सुचीकृत धितोपत्र, नेपाल सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बील तथा अन्य उपकरणहरु, मुद्रा बजार उपकरण, बैंक निक्षेप जस्ता रहेका छन्। म्युचुअल फण्डहरुले सूचीकृत तथा सुचिकरण हुन बाँकी धितोपत्रमा गरेको लगानीहरुको तुलना गर्दा सबैभन्दा उच्च लगानी बैंक वित्तिय संस्थाका शेयरमा गरेका छन्। फण्डहरुले माघ मसान्त सम्ममा धितोपत्रमा गरिएको लगानी मध्ये ३३.९७% वाणिज्य बैंकहरुको साधारण शेयरमा गरेका छन्। मंसिर महिनामा उक्त लगानी ३४.८९% रहेको थियो। साथै, लघुवित्त वित्तिय संस्थाहरुको शेयरमा १६.०७%, बिकास बैंकमा ६.३१% र वित्त कम्पनीहरुको शेयरमा ०.८७% गरी 'क', 'ख', 'ग' र 'घ' वर्गका बैंक वित्तिय संस्थाहरुको शेयरमा कुल ५७.२२% लगानी गरेका छन् जुन रु.१२.४० अर्ब हुन आउछ। वाणिज्य बैंक / बैंकिङ्ग समुह मध्ये फण्डहरुको उच्च रोजाइमा एन आई सी एशिया बैंक (NICA) परेको छ। म्युचुअल फण्डहरुले कुल रु.८८.८९ करोड बराबरको १० लाख ८६ हजार कित्ता लगानी गरेका छन्। पौष मसान्त सम्ममा म्युचुअल फण्डहरु सँग ११ लाख १४ हजार कित्ता शेयर एन आई सी एशिया बैंकको रहेको थियो। यस्तै, अघिल्लो महिनामा सानिमा बैंक (SANIMA) को कुल १४ लाख १९ हजार कित्ता शेयर होल्ड गरकोमा माघमा बढाएर १४ लाख ५१ हजार कित्तामा पुर्याएका छन् जसको बजार मुल्यको आधारमा रु.५१.५२ करोड हुन आउछ। त्यस्तै, प्रभु बैंक (PRVU), नेपाल बैंक (NBL), नबिल बैंक (NABIL), प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL), ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) पनि प्रमुख रोजाइमा परेका छन् जसमा रु.४० करोड भन्दा बढीका दरले लगानी रहेको छ। यस्तै, कुल रु.३.४८ अर्ब बराबरको लगानी रहेको लघुवित्त समुह मध्ये छिमेक लघुवित्त वित्तिय संस्था (CBBL) को ४ लाख ६९ हजार बढि कित्ता शेयरमा लगानी गरेका छन् जसको माघ मसान्तको बजार मुल्यको आधारमा कुल रु.६१.४५ करोड हुन आउछ। अघिल्लो मसान्तमा पनि म्युचुअल फण्डहरु सँग छिमेक लघुवित्त वित्तिय को ४ लाख ७५ हजार कित्ता भन्दा बढि शेयर रहेको थियो। यस्तै, साना किसान लघुवित्त (SKBBL), निर्धान उत्थान लघुवित्त (NUBL), जीवन बिकास लघुवित्त (JBLB), आरएमडिसि लघुवित्त (RMDC) कम्पनीहरुमा बजार मुल्यको आधारमा उच्च लगानी रहेको छ। यसैगरी, बिकास बैंकहरु मध्ये मुक्तिनाथ बिकास बैंक (MNBBL), गरिमा बिकास बैंक (GBBL), कामना सेवा बिकास बैंक (KSBBL), साइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), लुम्बिनी बिकास बैंक (LBBL) रोजाईमा रहेका छन् भने वित्त कम्पनीहरु मध्ये मन्जुश्री फाइनान्स (MFIL), गुडविल फाइनान्स लिमिटेड (GFCL), रिलायन्स फाइनान्स लिमिटेड (RLFL), आईसिएफसि फाइनान्स (ICFC), श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स (SIFC), प्राथमिकतामा रहेका छन्। बैंक वित्तिय संस्थाहरु पश्च्यात म्युचुअल फण्डहरुले बिमा कम्पनीहरुमा पनि लगानी विस्तार गरेका छन्। कुल धितोपत्रमा गरिएको लगानी मध्ये बजार मुल्यको आधारमा ११.२२% जीवन बिमा र १२.७९% निर्जीवन बिमा कम्पनीमा गरी कुल २४.०१% लगानी बिमा कम्पनीहरुको शेयरमा लगानी गरेका छन् जुन माघ मसान्तको बजार मुल्यको आधारमा रु.५.२० अर्ब कायम हुन आउछ। जीवन बिमा तर्फ फण्डहरुले नेशनल लाइफ इन्स्योरेन्स (NLICL) मा उच्च लगानी गरेका छन्। बजार मुल्यको आधारमा लाईफ इन्स्योरन्स कर्पोरेशन नेपाल (LICN), नेपाल लाईफ इन्स्योरेन्स (NLIC), सुर्या लाईफ इन्स्योरेन्स (SLICL) प्राईम लाईफ (PLIC), मा पनि उच्च लगानी गरेका छन् भने निर्जीवन बिमा तर्फ नेको इन्स्योरेन्स (NIL), प्रिमियर इन्स्योरेन्स (PIC), शिखर इन्स्योरेन्स (SICL), एन एल जि इन्स्योरेन्स (NLG), सगरमाथा इन्स्योरेन्स (SIC) मा धेरै लगानी रहेको छ। यस बाहेक म्युचुअल फण्डहरुले जलविद्युत कम्पनीहरुको शेयरमा कुल धितोपत्रमा गरिएको लगानीको ६.१६%, म्युचुअल फण्डको इकाईहरुमा २.५६% लगानी क्षेत्रसँग सम्बन्धित कम्पनीहरुको शेयरमा २.५५% उत्पादन तथा प्रशोधन सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुको शेयरमा २.४४%, ऋणपत्रमा २.४०%, अन्य समुहमा वर्गकृत कम्पनीहरुमा २.२५%, होटल तथा पर्यटनमा ०.२८% र व्यापार कम्पनीहरुको शेयरमा ०.१४% लगानी गरेका छन्। म्युचुअल फण्डहरुको सम्पूर्ण जानकारीको लागि तपाईंहरुले नेप्से अल्फाको Mutual Fund Performance मा हेर्न सक्नुहुन्छ। नेप्से अल्फाबाट साभार
माघ महिनामा म्युचुअल फण्डहरुले रु.१.६५ अर्ब गुमाए, एनआईसी एशिया, नेशनल लाइफ, छिमेक लघुवित्त शिर्ष छनौटमा
Previous Articleरुप्से दैनिक ! १८ फागुन २०७८
Next Article रुप्से दैनिक ! १९ फागुन २०७८