जनकराज सापकोटा
काठमाडौँ, ६ मंसिर – मन्त्रीको भ्रमण टोलीमा मिसाएर बेलायत पुर्याइदिने आश्वासन पाएपछि पर्वत शंकरपोखरीका विनोद सेवाले २९ लाख रुपैयाँ बुझाए । काठमाडौं, कपनका सन्तोष कटवालले पनि उसैगरी अमेरिका पुर्याइदिने आश्वासनमा विश्वास गरेर ९ लाख रुपैयाँ बुझाए । उनीहरू दुवै त्यतिबेला झसंग भए, जतिबेला रकम लिएको मान्छे नै सम्पर्कविहीन भयो ।
उनीहरूलाई अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम असुल्ने व्यक्ति थिए, ललितपुर इमाडोलका मनोजबहादुर सिंह । आफूलाई राजा बाबु र अनुप सिंह जस्ता नामबाट चिनाउने र कोहीलाई पाइलट बताउने, कसैलाई हिन्दु प्रजातान्त्रिक पार्टी नेपालको उपाध्यक्ष रहेको परिचयपत्र देखाउने सिंह यसअघि पनि वैदेशिक रोजगारीको ठगीको मुद्दामा परेका व्यक्ति हुन् ।
वैदेशिक रोजगार विभागमा परेको ठगी मुद्दामा २०७० साउन २० मा उनले बयान दिएको रेकर्डले देखाउँछ । रामकाजी श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, विष्णु गौतम, कमल गौतम, कृष्णकान्त गौतम, रिसव गौतम र हर्षमान गौतमलाई वैदेशिक रोजगारीमा लगिदिने बहानामा ९३ लाख रुपैयाँ लिएको भन्दै अशोककुमार कारिन्जतविरुद्ध परेको मुद्दामा सिंह तानिएका थिए । कारिन्जतले बयानका क्रममा पीडितहरूबाट उठाएको ९३ लाख रुपैयाँ सिंहले लिएको बताएका थिए ।
ठगिएका अधिकांशलाई सिंहले मन्त्री विदेश जाने टोलीमा समावेश गरेर पठाइदिने आश्वासन दिएका थिए । केहीलाई भने दलित कोटामा पारेर ‘सेटिङ’मा अमेरिका पुर्याउने बचन दिएका थिए । उनले सेवा र कटवालजस्तै करिब २९ जनाबाट उस्तै प्रकृतिको आश्वासनमा करिब चार करोड रुपैयाँ उनले लिएको खुलेको छ । बडी गार्ड लिएर हिँडने र विभिन्न मन्त्रीसँग आफ्नो सोझो सम्बन्ध रहेको बताउने सिंहले रकम बुझाएकाहरूलाई झुलाउन अनेकन तिकडम रचेको देखिन्छ ।
कतिसम्म भने उनले असार २० मा इमाडोलस्थित एक होटलमा पासपोर्ट वितरण गरिने कार्यक्रम आयोजना हँुदैछ भन्ने व्यहोराका पत्रसमेत तयार पारेका थिए । सिद्धिदाता इन्टरप्राइजेजको नामबाट तयार पारिएको उक्त पत्रमा विषय लेखिएको छ, प्रमुख अतिथिको आसन ग्रहण गरी पासपोर्ट वितरण गरिने सम्बन्धमा । उक्त पत्रमा तत्कालीन उपप्रधानमन्त्री, श्रम तथा रोजगार मन्त्री र वाणिज्य मन्त्रीको उपस्थिति हुनेसमेत उल्लेख छ ।
कोही आफन्तमार्फत, कोही ज्योतिषमार्फत पीडितहरू मनोजको सम्पर्कमा पुगेको देखिन्छ । खिमबहादुर परियारले सिंहका निकट आकाश लामालाई ३८ लाख रुपैयाँ बुझाएका थिए । ‘पैसा जसले बुझे पनि मनोजकै पासो हो,’ परियारले भने । उनलाई सिंहले अमेरिकाको भिसा लागेको नक्कली कागज नै बनाएर दिएका थिए । अमेरिका पुर्याएर छाडिदिने आश्वासनको चंगुलमा परेकाहरूले बैंकिक च्यानलमार्फत नभई हातैमा रकम बुझाएका थिए । आइतबार नै ठगिएका केही पीडित महानगरीय प्रहरी परिसर पुगेर एसएसपी सर्वेन्द्र खनाललाई पनि भेटेका थिए ।
प्रहरी स्रोतका अनुसार सिंहको नाममा व्यक्तिगत ठगीदेखि हातहतियार तथा खरखजाना ऐनमा समेत मुद्दा चलेको थियो । हाल रामेछापमा डीएसपी रहेका कुमुद ढुंगेल त्यतिबेला अपराध महाशाखाको केरकार शाखामा थिए । सिंहको ठगी धन्दाको अनुसन्धानमा ढुंगेल पनि समावेश थिए । ढुंगेलका अनुसार त्यतिबेला प्रहरीमा भर्ती गराइदिने आश्वासनको चंगुलमा पार्दै सिंहले करोडौं रुपैयाँ उठाएका थिए । वि.सं. २०६८ मा इमाडोलस्थित उनको घरमा खानतलासी गर्दा इनारमा लुकाइएको दुई थान पेस्तोल बरामद भएको थियो ।
ठगी र हातहतियार तथा खरखजाना मुद्दामा सिंह करिब दुई वर्ष डिल्लीबजार कारगारमा समेत बसेका थिए । प्रहरी स्रोतका अनुसार पूर्वयुवराज पारस शाहसँग पनि सिंहको नजिकको सम्बन्ध छ । स्रोत भन्छ, ‘उनले नै शाहलाई गढीमाईको मेलामा आफ्नै गाडीमा हालेर पुर्याएका थिए ।’ कान्तिपुर
मन्त्रीको टोलीमा पारेर अमेरिका पुर्याउँछु भन्दै ठग्दै
Previous Articleनव औद्योगिक क्रान्तिको आवश्यकता
Next Article संविधान संशोधन आवश्यक छैन – एमाले