डा.चन्द्रमणि अधिकारी
क्रान्ति त्यस्तो फरक अवस्थाको सिर्जना हो । जसले मानिसको जीवनपद्धतिमा आमूल परिवर्तनको अनुभूति गराउँछ । त्यसैले ओजपूर्ण र समाजको संरचनामा उथलपुथल ल्याउने प्रकृतिको परिवर्तनलाई क्रान्ति भनिएको हो । क्रान्ति राजनीतिक, सामाजिक, आर्थिक र औद्योगिक प्रकृतिका हुन सक्छन्, जसले मानिसको जीवनमा प्रभाव पार्छन् । यद्यपि प्रभाव फराकिलो वा साँघुरो हुन सक्छ । कतिपय क्रान्तिको प्रभाव देशको राजनीतिक भूगोलभित्र सीमित हुन्छ भने कतिपय क्रान्तिको असर राष्ट्रिय सीमाभन्दा बाहिरसमेत पुग्छ । त्यस्तैमध्येको एउटा हो, अठाराँैं शताब्दीको आधाआधीमा युरोपबाट सुरु भएको औद्योगिक क्रान्ति । सन् १७६० मा सुरु भएको औद्योगिक क्रान्तिले १८४० सम्ममा आकार ग्रहण गरिसकेको थियो ।
हुन त नेपालमा पनि क्रान्तिका कुरा भए । कतिपय क्रान्ति सम्पन्न भएको घोषणा गरियो । उदाहरणका लागि राजनीतिक परिवर्तनका लागि भनी गरिएको क्रान्ति जसले देशलाई गणतन्त्रमा रूपान्तरण ग¥यो तर आमजनताले त्यो क्रान्ति र त्यसको नतिजाको कारणले आफ्नो जीवनमा सकारात्मक परिवर्तन भएको अनुभूति गर्न सकेका छैनन् । औद्योगिक क्रान्तिको विषयले त नेपालमा छड्के नजरले मात्र हे¥यो । यसले दिएका उपलब्धिको प्रयोग देशको आर्थिक समुन्नतिमा भूमिका देखाउने गरी हुन सकेन, यसको सकारात्मक प्रभाव पनि देखिएन । तितो यथार्थ यही हो ।
युरोपको औद्योगिक क्रान्तिको आधार उद्योगका लागि प्रयोग गरिने मेसिनको विकास र वाष्पयन्त्र (स्टिम इन्जिन) को आविष्कार र प्रयोग हो । यसले एकातिर औद्योगिक उत्पादनको तरिकामा परिवर्तन ग¥यो, मानिसले गर्ने काम यन्त्रबाट हुन थाल्यो । यसले कामलाई सजिलो मात्र होइन, छिटो पनि बनायो । अनि बृहत मात्रामा उत्पादन हुन सक्नाले लागत पनि घट्यो । सन् १७६५ मा जेम्सवाटले व्यावसायिकरूपले प्रयोग गर्न सकिने वाष्पयन्त्र बनाउनुभयो । अनि मेसिनबाट उत्पादन गर्नमा शक्तिका लागि इन्जिनको प्रयोग हुन थाल्यो । उत्पादन गर्ने मेसिनलाई स्टिम इन्जिनबाट प्राप्त शक्तिको आधारमा सञ्चालन गर्ने प्रविधिको विकासले ल्याएको प्रभाव अमेरिकामा विस्तार भयो, क्रमशः अन्य महादेशमा पनि स¥यो । दक्षिणपूर्व एसियाका देश र एसियाका चीन र भारतले पनि यसबाट फाइदा लिए । चीनले १९६२ मा राजनीतिक र सामाजिक अभियानको रूपमा सांस्कृतिक क्रान्ति ग¥यो तर त्यसलाई संस्थागत गर्ने काम १९७८ पछिको आर्थिक–औद्योगिक परिवर्तनबाट मात्र सम्भव भयो, जसले चीनलाई विश्व शक्तिको रूपमा उभ्यायो ।
मेसिनबाट प्राप्त हुने यस्तो परिवर्तनकारी शक्तिको विकास हुनुभन्दा अगाडि बल निकाल्ने काम या त मानिसकै पाखुरा वा बाहुबलबाट हुन्थ्यो अथवा जनावरको प्रयोग गरेर । जस्तो नेपालमा यदाकदा अहिले पनि कतिपय ठाउँमा उखु पेल्न कोल चलाउने कार्यमा गोरुको प्रयोग गरिन्छ । यसरी मेसिनको काम बढी र मानिसको काम कम भएपछि, उद्योगमा लगानी पनि बढ्यो । यसलाई संस्थागत गरेर कारखानाको रूप दिइयो । धेरै उत्पादन भएपछि त्यसको ओसारप्रसार र अन्य व्यवस्थापन कार्यको आदेशसमेत निश्चित ठाउँबाट हुन थाल्यो । यसले गाउँबाट मानिस वा मजदुरहरूलाई कारखानाका वरिपरिका क्षेत्रमा तानेपछि क्रमशः सहरको विकास हुन थाल्यो, सहरीकरणको गति अघि बढ्यो । उन्नाइसौंँ शताब्दीको आधा–आधी पुग्दा स्टिमइन्जिनलाई ‘लाकोमाटिभ पावर’ मा डिजाइन गरेर रेल चलाउन थालियो । पहिले अगाडिबाट तान्ने प्रणालीमात्र रहेकोमा घचड्ने प्रणालीको पनि विकास गरियो । अनि रेललले एकैपटक धेरै वस्तु र मान्छे ओसारप्रसार गर्न थाल्यो । यसै समयको सेरोफेरोमा ग्राह्मवेलले टेलिफोनको आविष्कार गरे, पछि मार्कोनीले वायरलेस दूरसञ्चार सेवाका लागि योगदान गरे । यी सबैले गर्दा उत्पादन, ओसारप्रसार र बजार सूचनाका लागि आधार तयार भयो, सामाजिक जीवन पनि प्रभावित भयो । यसरी औद्योगिक परिवर्तनको आधार बनेका यन्त्रहरू (मेसिनहरू), स्टिम इन्जिन तथा टेलिफोन तथा रेलवे सेवामा निरन्तर विकास र सुधार गरी तिनलाई आधुनिक र समय अनुकूल बनाउने काम यद्यपि जारी छ । प्रविधिमा निखार र चुस्तता आइरहेको छ ।
यो औद्योगिक परिवर्तनको प्रभावबाट विश्वका कुनै पनि देश टाढा छैनन् तर नेपालजस्ता देशले यस्ता कुरा देखेर पनि, नजिक रहेर पनि लाभ लिन सकिरहेका छैनन् । त्यसैले यहाँ फरक र भिन्न खालको औद्योगिक क्रान्तिको आवश्यकता छ ।
हुन त भारतमा अहिले पनि आधा जनसङ्ख्या कृषिमा निर्भर छन् तर त्यहाँ कृषिक्षेत्रको औद्योगीकरण हुनेक्रम तिब्र छ । यद्यपि भारतमा औद्योगिक विकासको प्रारम्भ ब्रिटिशले कब्जा गरेपछि भएको हो । सन् १८५० पछि त्यहाँ जुट मिलहरूको स्थापना भयो, रेल्वे प्रणालीको पनि प्रारम्भ र विस्तार भयो । अनि क्रमशः कपडा तथा स्टिल कारखाना खुले । अहिले भारतमा उद्योगक्षेत्रले कुल गार्हस्थ उत्पादनको झन्डै एकतिहाई (३१–३३ प्रतिशत) योगदान गरेको छ, यो विश्व औद्योगिक उत्पादनको करिब सातप्रतिशत हो । भारतमा रहेको ११५ हजार किलोमिटर लम्बाइको रेलवेबाट दैनिक दुई करोडभन्दा बढी व्यक्ति आवतजावत गर्छन् । तर जोडिएको र सहज भू–सतह भएको नेपालमा भने रेल र ठूला उद्योगको स्थापना तथा विस्तार दुवै हुन सकेन । सन् १९२७ मा भारतको रक्सौलबाट नेपालको अमलेखगञ्जसम्म पहिलो रेलसेवा चलेको थियो तर सन् १९६५ बाट बन्द भयो । त्यसपछि स्थापना भएको जनकपुर–जयनगर रेलवे पनि २०१० मा आइपुग्दा बन्द भयो । रेलवेको निर्माण तथा सेवा सञ्चालनको तत्कालीन उद्देश्य जेसुकै भए पनि त्यसलाई नेपालले औद्योगिक विकासको आधार बनाई आफू अनुकूल विस्तार गर्दै जानु पर्दथ्यो । त्यतातर्फ सरोकार पक्षहरूको दृष्टि पुग्न सकेन । भारतमा भएको जुट उद्योगको विस्तार तथा विश्व औद्योगिक क्रान्तिको छायाँको केही अंशको रूपमा सन् १९३७ तिर नेपालको पूर्वी तराईमा स्थापित जुटमिल र जुट उद्योग पनि विस्तारित हुनुको सट्टा धरासायी हँुंदै गए । यसको अर्थ नेपाल औद्योगिक क्रान्तिबाट प्राप्त नतिजाबाट बिलकुल अछूतो छ भन्न खोजिएको होइन । ग्राह्मवेलले आविष्कार गरेको टेलिफोनकै विस्तारित रूप नेपालीहरूको हातमा छ । अनि औद्योगिक क्रान्तिले पस्केका आधुनिक उत्पादनको उपभोग हामीले गर्दैछौँ पनि । तसर्थ यसो भन्न सकिन्छ, औद्योगिक क्रान्तिको प्रभाव नेपालमा एकपक्षीय रूपमा प¥यो अर्थात् उपभोगमा प¥यो, उत्पादनमा परेन; साजसज्जामा प¥यो, सिर्जनामा परेन; बोलीमा प¥यो, व्यवहारमा परेन । यसको प्रभाव दृष्टिमा प¥यो, गतिमा परेन ।
हुन त औद्यागिक क्रान्तिको प्रभाव सकारात्मक मात्र छैन । क्रान्ति सुरु भएको सय वर्ष पुग्दा नपुग्दै यसको नकारात्मक असरहरू देखिन थालेका छन् । विश्व जलवायु परिवर्तन र वातावरणमा परेको नकारात्मक नतिजाको प्रतिफल भने नेपालले अनुपातिक रूपमै भोग्दैछ । अनि प्रविधिको विकासको कारणले प्राप्त आर्थिक प्रतिफल पनि सीमित परिवार, समूह र समुदायमा केन्द्रिकृत भएका कारणले विश्वको समाजिक वातावरणमा केही खलल पुगेको छ । यद्यपि औद्योगिक क्रान्तिले विश्वलाई ठूलै गुन लगाएको कुरा बिर्सनुु हुँदैन । त्यसैले पनि नेपालले आफ्नै प्रकृतिको औद्योगिक विकास भनौँ क्रािन्तको मोडेल तयार गरेर अगाडि बढ्नु पर्दछ ।
यसको अर्थ नेपालले नितान्त नयाँ यन्त्र वा मेसिनहरूको अनुसन्धान र विकासको भन्दा पनि विकसित भइसकेका उपकरणहरू र प्रविधिको प्रयोग गर्ने पद्धति, प्रणाली र व्यवहारको मोडेलको पहिचान वा आविष्कार गर्नुपर्ने भएको छ । यसका लागि नेपालको भूबनोट तथा आवश्यकता अनुरूप कृषि क्षेत्रको चक्लाबन्दीकरण, यान्त्रीकरण, विशिष्टिकरण, औद्योगिकीकरण र व्यावसायीकरण गर्नु आवश्यक देखिन्छ जसले अर्थतन्त्रमा उच्चदरले मूल्य अभिवृद्धि गराउन सक्छ । यसबाहेक खनिज तथा पर्यटन उद्योगको व्यापकताका लागि उपयुक्त किसिमको मोडेल, नीति एवं रणनीति चाहिन्छ । यो कार्य त्यसै हुँदैन, यसका लागि शक्ति चाहिन्छ । त्यसैले जलविद्युत् तथा अन्य वैकल्पिक ऊर्जाको क्षेत्रमा उच्चतम लगानी र ऊर्जालाई मूलतः कच्चा पदार्थको रूपमा लिई त्यसको आधारमा अन्यक्षेत्रको मूल्य अभिवृद्धि गर्ने कुरामा राज्यको ध्यान केन्द्रित गरिनुपर्छ । उत्पादन, प्रसारण र व्यवस्थापनलाई पनि छिमेकीकरण गरी भारत र बङ्गलादेशसँग विद्युत् व्यापारका लागि नीतिगत तथा भौतिक थप पूर्वाधार तयार पार्ने र तयार भइसकेका आधारलाई कार्यान्वयनमा लैजाने कामलाई तीव्रता दिइनुपर्छ । यसो गर्दा नेपालका नदीहरूबाट बहाव र जलाशय प्रणालीसमेतको आधारमा सन्तुलित ढङ्गले ऊर्जा उत्पादन गराउने, बढी भएको बिजुली भारत तथा बङ्गलादेशमा बिक्री गर्ने र कम हुने अवस्थामा उचित मूल्यमा आयात गर्ने प्रबन्ध मिलाउनुपर्छ ।
औद्योगीकरणका लागि अर्को अत्यावश्यक आधार यातायात हो । त्यसमा पनि परम्परागत ढङ्गको यातायात नभई कृषि, उद्योग, व्यापार, बजार, पयर्टन क्षेत्रलाई सम्बोधन गर्ने, लागत घटाउने र सबै दृष्टिबाट प्रतिस्पर्धी बनाउने किसिमको प्रणाली र सञ्जालको विकास गरिनु आवश्यक छ जुन संरचनाभित्र भूसंरचना र विकासको मोडेल अनुरूपका साधन (सडक, रेल, हवाई, रोपवे आदि) आवश्यकताअनुसार सञ्चालन गर्न सकियोस् । यी सबैको जीवन्त परिचालक जनशक्ति हो । तसर्थ जनशक्ति र प्रविधिबीच तालमेल गराउन शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्ने र सोहीअनुसार मानव संशाधनलाई देशभित्रै काम दिनुका साथै भएको र सम्भाव्य साधनलाई यिनै प्रमुख क्षेत्रमा केन्द्रित गर्नसके नेपाल मोडलको आर्थिक परिवर्तन र औद्योगिक क्रान्ति सम्भव हुन्छ, यसमा द्विविधा छैन ।