आगामी वैशाख ३० गते निर्वाचन गर्नका लागि सरकारले घोषणा गरेको भए पनि हुने, नहुने भन्नेतर्फ भने सबैको आशंका रहेको मान्न सकिन्छ । विगतको अवस्था हेर्दा निर्वाचनको सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम नै मानिएका हुन् । उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम भन्दै प्रधानमन्त्रीबाटै बर्खास्त गरेका थिए । तर पनि अहिले विगतमा भएका कमजोरीहरुलाई सच्याउने मौका अहिले देउवालाई छ । देउवाले अहिले निर्वाचन सम्पन्न गर्न सकेको खण्डमा तोकिए भन्दा पहिल्यै त्यो पनि पूर्ण रुपमा सफल निर्वाचन गराएको भनेर दावी गर्ने मौका पक्कै पाउनेछन् । तर अहिले ढुक्क हुने अवस्था भने पक्कै पनि छैन । पटक–पटक निर्वाचनकै कारण विवादमा पर्ने गरेका देउवाले यसपटक वैशाख ३० गते निर्वाचन तोकेका छन्, त्यो पनि एकै पटक देशैभरका ७ सय ५३ वटै स्थानीय तहको । पहिलो स्थानीय तह निर्वाचन तीन चरणमा गरिएको भए पनि यसपटक सबै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने जुन ध्याउन्न छ, त्यो सफल भयो भने देउवाको पनि सफलता पक्कै मानिनेछ ।
निर्वाचनको घोषणा गरिसकेको अवस्थामा तीन महिना पहिलादेखि निर्वाचन आचारसंहिता लागू हुनुपर्ने भए पनि दुई महिना अगाडि मात्रै निर्वाचन आचारसंहिता लगाउने गरी तयारी भएको देखिएको छ । अवस्था हेर्दा र बोलिएका कुराहरु देख्दा, सुन्दा निर्वाचन होला जस्तो देखिएको पक्का छ । तर पनि निर्वाचनप्रति आम जनता भने ढुक्क भएका भने छैनन् । निर्वाचन हुने तर्खर भए पनि यो हप्ता निर्वाचन दिवस पनि रहेको छ । निर्वाचन दिवसको पेरिफेरि बुझ्नतर्फ लाग्ने हो भने हामी आजभन्दा ५३ वर्ष जति अगाडि वि.सं. २०१५ सालतर्फ फर्कनुपर्छ । वि.सं. २०१५ अर्थात् प्रजातन्त्र आएको ८ वर्ष भएको थियो । २०१५ सालको फागुन ७ गतेका दिन नेपाली जनले पहिलो निर्वाचनको अनुभव लिएका थिए । वि.सं. २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो।
हामी सबैलाई पहिलो प्रश्न सबैले गर्ने गर्दछन्, मतदाता नामावलीमा आफ्नो नाम लेखाउनुभएको छ ? बालिग मतदाता बन्नका लागि मतदाता नामावलीमा नाम टिपाउन जरुरी रहन्छ । मतदान हाम्रो अधिकार मात्र नभई कर्तव्य पनि हो भन्ने कुरा यस दिवसले सदैव सन्देश दिनेछ । नेपालको संविधानको भाग २४ धारा २४५ संवैधानिक अड्डका रूपमा निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ । आयोगमा प्रमुख निर्वाचन आयुक्त र अन्य चारजना आयुक्त रहने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगको नेतृत्वमा निर्वाचन दिवससम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । वर्ष २०७८ को निर्वाचन दिवसले अब आउँदो वर्षहरूमा स्थानीय, संघीय र प्रादेशिक सबै तहका निर्वाचनहरू शीघ्र आयोजना गरिने जनाउ पनि दिनेछ । निर्वाचन प्रजातन्त्रको मेरुदण्ड हो । निर्वाचन दिवस केही दिनपछि हामीले मनाउने भए पनि निर्वाचनका लागि आम नेपाली व्यग्र प्रतिक्षा गरिरहेको वर्तमान अवस्थामा आगामी दिनम के, कसरी गर्ने भन्नेतर्फ पनि हामी सबैले सोचेर निर्वाचन सम्पन्न गर्नका लागि सबै तर्फबाट तयारी गर्नु नै आजको आवश्यकता हो ।