मानवीय सेवामा संलग्न विश्वकै ठूलो सामाजिक संस्थामा पर्ने लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि आईको भ्वाइस डिस्ट्रिक्ट गर्भनरका लागि म्याग्दीका चन्द्रकुमार केसीले उम्मेदवारी प्रस्तुत गरेका छन् ।
म्याग्दीका १० वटा लायन्स क्लबहरुको प्रस्तावमा सन् २००७ देखि लायन्स अभियानमा सक्रिय लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष केसीले क्लबको सन् २०२२÷२३ का लागि माघ २९ गते पोखरामा हुने दशौं महाधिवेशनमा भाइस गर्भनरमा उमेद्वार बन्न लागेका हुन् ।
शुक्रबार आयोजित कार्यक्रममा केसीले लायन्स क्बबमार्फत सामाजिक सेवाका गतिविधिलाई अघि बढाउन रामबहादुर बस्यालको नेतृत्वको प्यानलमा उम्मेद्वार बन्न लागेको बताए । ‘लायन्सको यात्रामा धेरैलाई नेतृत्वमा पुग्न साथ दिइयो, ‘आफूले देखेका केही सपना पुरा गर्न मैले उम्मेदवारी दिएको छु’ केसीले भने । म्याग्दी जिल्लामा लायन्स अभियानको नेतृत्व गदैं जोन, रिजनलगायत क्लबका विभिन्न जिम्मेवारीलाई सफलतापूर्वक भूमिका निर्वाह गरेका केसीले लायन्स क्लबको पढाउ अभियानको नेतृत्व समेत गरेका थिए ।
म्याग्दीमा क्रियाशील परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संस्थापक अध्यक्ष समेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित एक बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश समेत दान गरेका थिए । उम्मेदवारी घोषणा कार्यक्रममा लायन नारायण श्रेष्ठको अध्यक्षता र विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स अभियन्ता सन्तोष रावलले म्याग्दी जिल्लामा लायन्सका अहिलेसम्मका ठूला अभियानहरु उम्मेदवार केसीको नेतृत्वमा आएको बताए ।
लायन्स क्लबमार्फत जिल्लाको किसानी प्राविधिक शिक्षालय बिम र गलेश्वर मावि तोरीपानीमा आठ÷आठ कोठे र नारच्याङ स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । बेनी अस्पतालमा स्वास्थ्य उपकरण सहयोग गरेको क्लबले पहिरोको विपद्को समयमा पनि जिन्सी तथा खाद्यान्नलगायत राहत सामग्रीहरु उपलब्ध गराएको थियो ।