विश्वका कतिपय देशले खोप लगाउन नपाइ रहेको अवस्था भए पनि नेपालले भने पहिलो चरणमा लगाएकाहरुलाइ बुस्टर डोज अर्थात् तेश्रो मात्रा पनि दिन थालेको छ । माघको पहिलो साता सरकारले पहिलो प्राथमिकता र दोश्रो प्राथमिकतामा परेकाहरुलाइ बुस्टर डोज दिन थालेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकाले खोपको सुनिश्चितता गर्दै कतिपय मुलुकबाट खोप ल्याएर भण्डारण गरेको अवस्थामा सरकार फेरिएपछि धेरै चिजहरु फेरिए तर राष्ट्र र जनताको पक्षमा भन्दा पनि निश्चित नेताका आफ्नाहरुको पक्षपोषण गर्नका लागि नै त्यो प्रकारको माहौल बनेको प्रसंग कहि कतै लुकेको छैन । राष्ट्र र राष्ट्रियताको अडयामा सतिसाल झैं उभिएका ओलीको सरकारबाट बहिर्गमन सँगै राज्य र राष्ट्रियताका सवालमा चुइक्क नबोल्ने सरकार अनि सरकारका नेतृत्व गरेका पार्टीका नेताहरुले आफ्नै तबरले निकाल्ने बिज्ञप्ती पनि रमाइला विषय हुन भन्दा फरक नपर्ला ।
सरकारले खरिद र अनुदानमार्फत प्राप्त गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको झण्डै १९ लाख मात्रा खोपको अभिलेख नराखेको पाइएको छ । सरकारले अनुदान र खरिदमार्फत ४ करोड ३८ लाख ८८ हजार ४० मात्रा खोप प्राप्त गरिसकेको छ । जसमध्ये सरकारले १ करोड २० मात्रा खरिद गरेको हो भने अनुदान सहयोगमार्फत २ करोड ८३ लाख ८८ हजार ८ सय ४० प्राप्त गरेको स्वास्थ्य सेवा विभागको तथ्याङ्कले देखाएको भए पनि त्यो अनुरुपको खोप कहाँ छ भन्ने अन्यौलता पक्का छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म दुई करोड ८५ लाख १० हजार ११६ मात्रा खोप लगाइएको छ । यो मात्रा खोप लगाइदिइसकेपछि भण्डारणमा १ एक करोड १८ लाख ७८ हजार ७ सय २४ मात्रा हुनुपर्छ । तर, सातै प्रदेशका भण्डारण केन्द्रमा ८० लाख मात्रा सञ्चित छ । सरकारी आँकडालाई केलाउँदा ३८ लाख ७८ हजार ७ सय २४ मात्रा खोप हराएको देखिन्छ । यदी लगाउने क्रममा ५ प्रतिशत खोप नै खेर गए पनि २० लाख १९ हजार ४ सय ४२ मात्रा हुन्छ । तर, १८ लाख ५९ हजार २ सय ८२ मात्रा खोप न त भण्डारण केन्द्रमा छ न त सरकारी अभिलेखमा छ । आखिर यति ठुलो मात्रामा कोरोनाविरुद्धको खोपको अभिलेख नभएको कारण के हो त?
मुलुकमा भित्रिएको मध्ये करिब १९ लाख मात्रा खोप अभिलेख नहुँदा स्वास्थ्य मन्त्रालयका अधिकारी अनभिज्ञता प्रकट गर्छन् । आपूर्ति शाखाले कोरोनाविरुद्धको खोप केन्द्र सरकारले प्रदेशलाई, प्रदेशले जिल्लालाई त्यसपछि स्थानीय तहबाट वार्ड स्वास्थ्य केन्द्र अनि खोप केन्द्रसम्म खोप आपूर्ति गर्दा कुनै त्रुटि नभएको बताउँछन् । खोप जसरी केन्द्रीय तहदेखि स्थानीय खोप केन्द्रसम्म पुग्ने प्रक्रिया छ त्यस्तै गरेर खोप लगाएको अभिलेख जम्मा हुँदै समन्वय भई आउन समय लागेकाले पनि यर्थाथ तथ्याङ्क केन्द्रसम्म नपुगेको हुन सक्ने अनुमान पनि नलगाइएको होइन । तर पनि झण्डै २० लाख मात्रा खोपको तथ्याङ्क नै हराउँदा भुकम्पको समयमा जस्ता बेचेको आरोप लागेकाहरु नै यसमा सामेल त छैनन् भन्ने तर्फ पनि जनताको आशंका जानु स्वभाविक हुन सक्ला । महामारी र विपद्को समयमा जनतालाइ रुवाएर आफु र आफ्नाको स्वार्थपुर्ति मात्रै नभएर उनीहरुकै पक्षमा कमाउको साधन बनाउने आरोप लाग्नेहरु नै अहिले सत्तामा रहेको हुँदा औंला कता तर्फ सोझ्याउने कन्फ्युज हुन पर्ला त?