लिबाङ, ५ मंसिर – ‘दस वर्षअघिसम्म त यहाँ लडाइँ, मारकाट र युद्ध हुन्थ्यो रे !’ लिबाङ नगरपालिका २ खुमेलकी १० वर्षीया मनीषा थापामगर भन्छिन्, ‘बुबाआमाले भनेको सुनेको हुँ । माओवादी र सेना/पुलिसले बन्दुक पड्काउने, मान्छे मार्ने गर्थे रे । कुरा सुन्दा पनि डर लाग्छ ।’
मनीषाका यी भनाइबाट स्पष्ट हुन्छ- रोल्पाबाट सुरु भएको दसवर्षे सशस्त्र ‘जनयुद्ध’ अब दन्त्यकथा बन्दैछ ।मनीषा अहिले कक्षा ५ मा अध्ययन गर्छिन् । शान्तिसम्झौता भएको पाँच दिनपछि अर्थात् २०६३ मंसिर १० मा जन्मिएकी उनी किशोरी भइसकेकी छन् । युद्ध समाप्तिको घोषणापछि मनीषाजस्तै लाखौं बालबालिका जन्मिएका छन् । उनीहरूलाई विगतको युद्धबारे थाहा छैन । युद्ध भोगेका पुस्ताले भनिदिएपछि मात्र थाहा पाउने अवस्था बन्दैछ ।
‘युद्धरत एकपक्ष आएर खाना पकाउन लगाउँथे रे । नपकाए गोली हान्छौं भन्थे रे । डरले खान पकाएर खुवाउँथे रे । फेरि खाना खुवाएको भन्दै अर्को पक्षले कुट्ने-पिट्ने गर्थे रे’, लिबाङ नगरपालिका-७ की १३ वर्षीया कमला सुनार भन्छिन्, ‘मैले पनि बज्यैले भनेको सुनेको हुँ । बज्यैले संकटकाल लागेको कुरा पनि सुनाउनुहुन्छ । कति मान्छे मारिए रे ! कुरा सुन्दा पनि शरीर काँप्छ ।’
बालकल्याण उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत लक्ष्मी शाहीलाई पनि विगतको युद्धबारे सुनाइएका किस्सामात्र थाहा छ । ‘मेरो बाजेलाई माओवादीले अपहरण गरेका थिए रे । उहाँ कुखुराको मासु नखाने मान्छे, गाली गर्दै पिट्ने गर्थे रे’, किशोरी लक्ष्मीले बाजेले भनेको सम्झिइन् ।
शनिबारको किशोरी समूहको बैठकमा सहभागी सबै किशोरीलाई विगतको युद्धबारे सोध्दा अभिभावकले सुनाएको कुरा उल्लेख गरे ।लिबाङ-७ की १३ वर्षीया लक्ष्मी सुनार भन्छिन्, ‘मेरो बाजेले भनेको, सेना र माओवादी लडाइँ गर्थे रे ।’
१२ वर्षकी विमला श्रेष्ठले पनि युद्धबारे आफूलाई बाजेले सुनाएको बताउँछिन् । ‘सेना र माओवादी लड्थे रे’, विमला भन्छिन्, ‘ती दिन कहिल्यै नदोहोरिऊन् ।’
युद्धबाट बालबालिका बढी प्रभावित हुन्छन् । युद्धका बेला रोल्पामा एक सय ८० बालबालिका टुहुरा बनेका थिए ।
शान्तिसम्झौतापछि जन्मिएका बालबालिका भाग्यमानी पुस्ता बनेको छ । २०५२ साल फागुन १ यता जन्मिएका अधिकांशलाई लडाइँको थोरैमात्र अनुभव छ । उनीहरूले पनि अभिभावकले सुनाएको आधारमा युद्धबारे थाहा पाएका हुन् । रोल्पाली बालबालिकाले युद्धका वृत्तान्त ‘रे’ का रूपमा सुन्दैछन् । विद्रोही समूहले पीडित बनाएका अभिभावकले विद्रोहीले दुःख दिएको सुनाउँछन् भने सेना र प्रहरीबाट पीडित अभिभावकले सेना÷प्रहरीको उपद्रो सुनाउँछन् ।
‘युद्धको उत्तराद्र्ध र शान्तिसम्झौतापछि जन्मिएका बालबालिकालाई त्रासदीपूर्ण युद्धबारे जानकारी छैन’, मानवअधिकार क्षेत्रमा क्रियाशील घनश्याम आचार्य भन्छन् । शान्तिसम्झौता भएका बेला पाँच वर्ष पुग्दै गरेका बालबालिका अहिले १५ वर्ष पुगेका छन् । माध्यमिक तहमा अध्ययनरत उनीहरूका लागि ‘माओवादी जनयुद्ध’ अब इतिहास बनेको छ ।
त्रासदी र बीभत्स घटनाको नालीबेली अभिभावकबाट सुन्दा अचम्म मान्छन् बालबालिका । कसैले सुनाएको भरमा बालबालिकाले धारणा बनाइरहेका छन् । युद्ध भोगेका अभिभावकका कुरा सुनेर पनि बालबालिका ‘अब युद्ध नहोस्’ भन्ने चाहन्छन् ।
रोल्पाका १५ वर्षमुनिका करिब ७५ हजार र रुकुमका ६५ हजार बालबालिकाका लागि अब युद्ध दन्त्यकथा बन्दै गएको छ । ‘युद्धमा टुहुरा भएका बालबालिकाले यसको पीडा झेल्दैछन्’, बालकल्याण संरक्षण अधिकृत गोकर्ण पुनमगर भन्छन्, ‘शान्तिसम्झौता भएका र त्यसपछि जन्मेका पौने लाख बालबालिकालाई विगतको युद्ध कथा बन्दै गएको छ ।’
शान्तिसम्झौतापछिको १० वर्षमा युद्ध भोगेका धेरै वृद्धवृद्धाको मृत्यु भइसकेको छ । उनीहरूको मृत्युसँगै युद्धका तितो अनुभव हराएर गएका छन् । युद्ध भोगेका वयस्कहरूको मस्तिष्कबाट पनि युद्ध विस्मृत बन्दै गएको छ ।