प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा प्रताप बानियाँ चयन भएका छन् । बुधबार जिल्ला सदरमुकाम बेनीमा सम्पन्न प्रेस चौतारी म्याग्दीको पाँचौँ जिल्ला अधिवेशनबाट पत्रकार बानियाँ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
कार्यसमितिको उपाध्यक्षमा समिर रोका, महिला उपाध्यक्षमा देवी जिसी, सचिवमा अमित विश्वकर्मा, उपसचिवमा बामदेव रिजाल, मनु थापा, र कोषाध्यक्षमा प्रतिक्षा खत्री चयन भएको प्रेस चौतारी म्याग्दीले जनाएको छ । यसैगरी सदस्यहरुमा भूपेन बानियाँ, ममता बराईली, सारिका बोहोरा, दिपा बुढाथोकी, नकुल ढकाल, गंगा पुन, दिपक शर्मा ‘दिपु’ चयन भएका छन् । १५ सदस्यीय कार्यसमितिमा १ सदस्य पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष बानियाँले बताए ।
अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले पत्रकारिताले समाज र देश परिवर्तन गर्ने सक्ने तागत राख्ने भएकाले पत्रकार आफ्नो पेशाप्रति सधैँ संवेदनशील बन्नुपर्ने बताए । ‘कलममा शक्ति छ, शक्तिको सदुपयोग हुने गरी चलाउनुस्’, सांसद थापाले भने । उनले पत्रकार सबैको साझा भएकाले समाचार सत्य र सन्तुलित हुनुपर्ने बताए ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जिल्लामा सञ्चालित सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारहरुको सबलीकरण तथा विकासका लागि स्थानीय सरकारको दायित्व हुनुपर्ने बताएका छन् । उनले पाठकले पत्रिका किनेर पढ्नुपर्ने भन्दै त्यसका लागि पत्रकारले खोजमूलक तथा जनचासोका समाचारहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्माले चौतारी पत्रकारहरु उत्पादन गर्ने तथा संरक्षण गर्ने सङ्गठन भएको बताए । उनले म्याग्दीमा प्रेस चौतारीको सङ्गठन बलियो भएको र पत्रकार महासंघको पनि नेतृत्व गरेको सङ्गठन भएकाले यसको गरिमालाई जोगाइराख्नका लागि अनुरोध समेत गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक प्रकाश पौडेल, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्मा र प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको उद्घाटनसत्र प्रेस चौतारी म्याग्दीका निवर्तमान संयोजक प्रताप बानियाँको अध्यक्षता र स्वागत तथा सहसंयोजक अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । नवनिर्वाचत प्रेस चौतारी म्याग्दी शाखाको टिमलाई प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष सुष्मा पौडेलले बधाइज्ञापन गर्दै जिल्लामा प्रेस चौतारीलाई पत्रकारहरुको बलियो सङ्गठनका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छन् । नवनिर्वाचित अध्यक्ष बानियाँले जिल्लामा प्रेस चौतारीलाई सशक्त रुपमा अगाडि बढाउने तथा पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न खालका रचनात्मक क्रियाकलापहरुलाई सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
प्रेस चौतारी म्याग्दीको अध्यक्षमा बानियाँ
Previous Articleरुप्से दैनिक ! २८ पाैष २०७८
Next Article प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट दुईजना सम्मानित