नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको औपचारीक उद्घाटन सँगै हिमाली जिल्ला म्याग्दीको बेनी बजारमा बाजागाजा सहितको ¥यालीले बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन कार्यक्रम शुरु भएको छ । २३ र २४ पुसमा सम्पन्न गर्ने कार्यसूचि सहित अधिवेशन शुरु भएको हो ।
एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार अधिवेशनमा ५ सय १० जना प्रतिनिधिहरुले भाग लिएका छन् । भूगोलबाट ३ सय ५० जना, जिल्ला कमिटीबाट ५८, सल्लाहकार १०, छ वटा स्थानिय तहबाट २ जनाका दरले १२, जनवर्गीय सङ्गठनबाट ३०, पेशागत महासंघबाट १० र विभागबाट १२ जना गरी ४ सय ८२ जना प्रतिनिधिहरु छनौट भएका छन् ।
त्यस्तै एमालेको विधान अनुसार सो संख्याको ५ प्रतिशत अर्थात् २८ जना मनोनितसहित ५ सय १० जना प्रतिनिधिले अधिवेशनमा भाग लिने अध्यक्ष श्रेष्ठको भनाइ छ । एमाले म्याग्दीको जिल्ला कमिटी ९० सदस्यीय हुने छ । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ जना गरी पदाधिकारी ५, भूगोलबाट १२ महिलासहित ३१ जना, बेनी नगरपालिकाबाट ३ महिलासहित ८ जना, रघुगंगा, अन्नपूर्ण, मालिका र धवलागिरी गाउँपालिकाबाट क्रमशः २ महिलासहित ५ जना, मंगलाबाट १ महिलासहित ३ जना जिल्ला कमिटी सदस्य पदमा निर्वाचित गरिने श्रेष्ठले बताउनुभयो ।
जिल्ला कमिटीमा दलितबाट २ महिलासहित ७ जना, मजदुरबाट १ महिलासहित २ जना, मुस्लिमबाट १ जना, अन्यबाट १ जना, जनजातिबाट ४ महिलासहित १३ जना र खुल्लाबाट ९ महिलासहित २१ गरी ३० जना निर्वाचित हुने व्यवस्था रहेको छ ।
अध्यक्ष श्रेष्ठले सकेसम्म सहमतिबाट नै नेतृत्व चयन गर्नेगरी छलफल अगाडि बढाइएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा स्थायी समिति सदस्य थममायाँ थापा, नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज भूपेन्द्र थापा, सहइन्चार्ज नरदेवी पुन, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मालगायतले मन्तव्य राख्नुहुने छ ।
एमालेले जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ¥याली तथा मञ्च व्यवस्थापन, सचिवालय, प्रचारप्रसार, आर्थिक सङ्कलन, स्वयंसेवक परिचालन, अतिथि सत्कार, भोजन तथा आवास र सामग्री व्यवस्थापन उपसमितिहरु रहेका छन् । यसैक्रममा बिहीवार अधिवेशनको पूर्वसन्ध्याको अवसरमा सदरमुकाम बेनीबजारमा एमालेले मोटरसाईकल ¥याली निकालेको थियो ।