नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ । शुक्रबार एमाले जिल्ला पार्टी कार्यालय हाँडेभीरमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनका लागि सबै तयारी पुरा गरिएको एमाले म्याग्दीले जनाएको छ ।
पत्रकार सम्मेलनमा नवौं जिल्ला अधिवेशनको बारेमा जानकारी गराउँदै एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले अधिवेशनमा ५ सय १० जना प्रतिनिधिहरुले भाग लिने बताए । उनले अधिवेशनका लागि जिल्लाभरबाट ५ सय १० जना प्रतिनिधिहरु छनौट गरिएको जानकारी दिए । भूगोलबाट ३ सय ५० जना, जिल्ला कमिटीबाट ५८, सल्लाहकार १०, पालिका कमिटीबाट १२, जनवर्गीय सङ्गठन ३०, पेशागत महासंघ १० र विभागबाट १२ जना गरी ४ सय ८२ जना छनौट भएका छन् ।
त्यस्तै विधानले व्यवस्था गरेअनुसार सो संख्याको ५ प्रतिशत मनोनित गर्दा हुन आउने २८ जनासहित कुल ५ सय १० जना प्रतिनिधिले अधिवेशनमा भाग लिने अध्यक्ष श्रेष्ठको भनाइ छ । एमालेको जिल्ला कमिटी ९० सदस्यीय हुने जनाइएको छ । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ जना गरी पदाधिकारी ५, भूगोलबाट १२ महिलासहित ३१ जना, बेनी नगरपालिकाबाट ३ महिलासहित ८ जना, रघुगंगा, अन्नपूर्ण, मालिका र धवलागिरी गाउँपालिकाबाट क्रमशः २ महिलासहित ५ जना, मंगलाबाट १ महिलासहित ३ जना जिल्ला कमिटी सदस्य पदमा निर्वाचित गरिने श्रेष्ठले बताए ।
दलितबाट २ महिलासहित ७ जना, मजदुरबाट १ महिलासहित २ जना, मुस्लिमबाट १ जना, अन्यबाट १ जना, जनजातिबाट ४ महिलासहित १३ जना र खुल्लाबाट ९ महिलासहित २१ गरी ३० जना निर्वाचित हुने व्यवस्था रहेको छ । पत्रकार भेटघाट कार्यक्रममा नेतृत्व सहमति वा निर्वाचनबाटै हुन्छ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष श्रेष्ठले सकेसम्म सहमतिबाट नै नेतृत्व चयन गर्नेगरी छलफल अगाडि बढाइएको बताए । अहिले पार्टी विशेष अवस्थाबाट गुज्रिरहेकाले चुनावभन्दा सहमतिकै बाटो रोजिने उनको भनाइ थियो ।
सहमति हुन नसके लोकतान्त्रिक विधि अपनाउँदै आकांक्षी धेरै देखिएका पदमा निर्वाचन गर्न सकिने उनले बताए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज भूपेन्द्र थापा, गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, जिल्ला कमिटी उपाध्यक्ष देवेन्द्र केसी, सचिव बालकृष्ण सुवेदी, उपसचिव देवबहादुर घले, सचिवालय सदस्य एवं आर्थिक विभाग प्रमुख प्रमोद श्रेष्ठ, प्रचार विभाग प्रमुख सुरत केसी, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
एमालेले जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमितिहरु गठन गरेर अधिवेशनको तयारीलाई तीव्र बनाएको छ । ¥याली तथा मञ्च व्यवस्थापन, सचिवालय, प्रचारप्रसार, आर्थिक सङ्कलन, स्वयंसेवक परिचालन, अतिथि सत्कार, भोजन तथा आवास र सामग्री व्यवस्थापन उपसमितिहरु रहेका छन् । यसैक्रममा बिहीवार अधिवेशनको पूर्वसन्ध्याको अवसरमा सदरमुकाम बेनीबजारमा एमालेले मोटरसाईकल ¥याली निकालेको थियो ।
यसैबीच नेकपा एमालेका सचिवालय सदस्य राजकुमार थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सर्वसम्मत नेतृत्व चयनका पक्षमा आफू रहेको र पार्टी अधिवेशनको बन्दसत्रमा मात्रै आफूले दावी पेस गर्ने कुरा फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।