पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन्।
उनले वंशजको आधारमा बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएकी हुन्।
उनको नागरिकता सनाखत गर्न पूर्वयुवराज्ञी हिमानी शाह प्रशासनमा पुगेकी थिइन्।
नेपालको संविधान अनुसार बुवा वा आमा दुबैको नामबाट नागरिकता प्राप्त गर्न सकिन्छ।
‘उहाँले वंशजको आधारमा नागरिकता लिनुभएको हो, सनाखत गर्न आमा आउनुभएको हो,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने।
छोरीले नागरिकता लिँदा पूर्वयुवराज पारस भने गएका थिएनन्। यसअघि जेठी छोरी पूर्णिकाले नागरिकता लिँदा पनि सनाखत गर्न हिमानी नै गएकी थिइन्।
नेपालमा पहिला राज परिवारका सदस्यले नागरिकता लिनु नपर्ने व्यवस्था थियो। २०६५ गणतन्त्र घोषणा भएपछि पनि पूर्वराजपरिवारका सदस्यको नागरिकताबारे स्पष्ट व्यवस्था थिएन।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि सबै नेपाली नागरिकलाई संविधानमुनि राखिएको छ। त्यसअघि अन्तरिम संविधान २०६३ कतिपय विषयमा मौन रहे पनि संविधान जारीपछि कानुनभन्दामाथि कसैलाई राखिएको छैन।
‘पहिले राजपरिवार र त्यसका सदस्यलाई संविधानभन्दामाथि राखिएको थियो, त्यसैले नागरिकता लिँदैनथे,’ पूर्वगृहसचिव डा. गोविन्द कुसुम भन्छन्, ‘अहिले संविधानमा भएका व्यवस्थाअनुसारका सबै प्रावधान सबै नागरिकले पालना गर्नुपर्छ।’
अहिले पासपोर्ट बनाउन पनि नागरिकता अनिवार्य गरिएको छ। नाबालकको हकमा भने जिल्ला प्रशासन कार्यालयले दिने सिफारिसको आधारमा पासपोर्ट बन्ने गरेको छ।
पारस-हिमानी दुबैले नेपाली नागरिकता लिइसकेका छन्। पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले नागरिकता लिएका छन्/छैनन् भन्ने खुलेको छैन।