नेपाली कांग्रेस मुस्ताङका सभापति एवम् पूर्व मन्त्री रोमी गौचन थकालीले नेकपा एमाले मुस्ताङका जिल्ला कमिटी सदस्य नरसिंह शेरचनलाइ गाउँका जनतालाई एमाले प्रवेश गराएको भन्दै धम्की दिएकोमा एमाले मुस्ताङले आपत्ती जनाएको छ ।
गाउँमा भएको बैठकको समयमा गाउँ भडुँवा भन्दै कुटपीट गर्न खोजेको भन्दै नेकपा एमाले मुस्ताङका सचिव आसबहादुर थकालीले एक विज्ञप्ती जारी गरेर आपत्ती जनाएका हुन् । विज्ञप्तीमा आफ्नो पार्टीको जिल्ला कमिटी सदस्यमाथि भएको दुव्र्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । राजनैतिक पार्टीको जिल्ला सभापतिले गरेको व्यवहार राजनैतिक व्यवहार नभएको एमालेका सचिव आशबहादुर थकालीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै राष्ट्रिय युवा संघ नेपाल मुस्ताङकी अध्यक्ष बुद्धिमायाँ गुरुङले पनि एक विज्ञप्ती जारी गर्दै आपत्ती जनाएकी छिन् ।
मुस्ताङको थासाङ गाउँपालिका ३ लेते कालोपानीका ६८ वर्षिय नरसिंह शेरचनले आफूमाथि भएको दुव्र्यवहारका विरुद्ध जिल्ला प्रशासन कार्यालय मुस्ताङमा उजुरी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उजुरी परेको पुष्टि गरेका छन् । प्रजिअ शर्माले उजुरी परेको र समस्या समाधानका लागि प्रयास गरीएको बताएका छन् ।
शेरचनले गाउँमा भएको बैठकमा आफ्नो पार्टीका कार्यकर्ताहरुलाइ एमाले प्रवेश गराएर गाउँमा अराजकता फैलाएको आरोप लगाउँदै कुटपीट गर्ने मनसायले आफू माथि जाइ लागेको भए पनि आफूले संयमता अपनाएर त्यस बखत जोगिएको भएपनि अन्य कुनै पनि समय पुन यस्ता घटना हुन सक्ने र आफ्नो जिउधनलाइ क्षती पुग्न सक्ने भन्दै जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।
कांग्रेस सभापति गौचनले मुस्ताङको लेतेमा रहेको धौलागिरी प्राविधिक शिक्षालयका प्रिन्सीपललाइ समेत गत २०७८ असोज २० गते कालोपानी गेष्ट हाउसमा बोलाएर आफूले भनेजसरी काम गर्न दबाब दिएको समेत नरसिंह शेरचनले प्रशासनमा दिएको उजुरीमा उल्लेख छ ।