बागलुङ, ४ मङ्सिर – तिहारको रमझम थियो गाउँमा । बागलुङको धम्जा २ असौजेकी अनिता थापा मलेसियामा रहेका दाजु तिहारमा नआए पनि देउसीभैलो खेल्दै न्यास्रो मेटाउने धुनमा थिइन् । लक्ष्मीपूजाको दिन मलेसियाबाट उनका दाजु प्रकाश थापाको दुःखद् मृत्युको खबर आयो । थापाको शव १० दिनपछि घर ल्याएर अन्त्येष्टि गरिएको छ ।
धम्जा गाविस ४ का ३० वर्षीय ज्ञानबहादुर किसानले पनि गत वर्ष मलेसियामा उस्तै अप्रिय मृत्यु बेहोर्नुपर्यो । ड्युटी सकेर राति सुतेका उनी फेरि उठेनन् । उनका पत्नी, एक छोरा र एक छोरी छन् ।
मलेसियामा कार्यरत धम्जा ४ कै ३९ वर्षीय नन्दलाल विकको पनि दुई वर्षअघि अल्पायुमै ज्यान गयो । रोजगारीको सिलसिलामा लामो समय विदेशमा रहेका विकको राति सुतेकै अवस्थामा प्राण गयो । परिवारका मुख्य अभिभावक विकको निधनपछि उनका पत्नीसहित दुई छोरा र एक छोरीको पठनपाठन र जीविकोपार्जनमा समस्या देखापरेको छ ।
एकै गाउँका युवाहरूको मलेसियामा लगातार मृत्यु भएको घटनाले स्थानीय स्तब्ध भएका छन् भने विदेशप्रतिको आकर्षणमा रहेका युवा पनि सशंकित बनेका छन् ।
बर्सेनि गाउँमा शव आउन थालेपछि मलेसियामा रहेका आफन्तलाई फोन गरी सक्दो छिटो घर फर्कन आग्रह गरेको स्थानीयले बताएका छन् । न्यून आय भएका परिवारको आकर्षक गन्तव्य मानिएको मलेसियामा नजान अभिभावकले आग्रह गर्न थालेको स्थानीय खर्कमान छन्त्यालले बताए ।
‘पहिले तुलनात्मक हिसाबमा सस्तो र सरल रूपमा जान सकिने भएकाले अभिभावकले पनि मलेसिया जानका लागि दबाब दिन्थे’, उनले भने, ‘गाउँमा लगातार दुःखद् खबर आउन थालेपछि भने सकेसम्म अरू देश जानका लागि पहल गर्न सुझाव दिन थालेका छन् ।’ विदेशबाट शव आउने घटनापछि अभिभावकले भने गाउँमै केही गर्न आग्रह गर्न थालेका छन् ।
Previous Articleलाेडसेडिङ अन्त्यका लागि दिउँसो सडकबत्ती निभाउन आग्रह
Next Article बुर्तिबाङमा ४० किवा विद्युत विस्तार