‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल, जेसीज कप फुटबल’ भन्ने मूल नारासहित म्याग्दीमा मङ्गलबारदेखि जेसीज कप फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसीजको आयोजनामा जिल्लास्तरीय १९औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जेसीजले युवाहरुमा व्यक्तित्व र नेतृत्वको विकास गरेको हुँदा खेलकुद प्रतियोगिता युवाहरुका लागि एउटा सुनौलो अवसर भएको बताए । उनले खेलकुद प्रतियोगिताले मानिसलाई अनुशासनभित्र राख्न सहयोग पु¥याउने बताउँदै युवाहरुलाई सकारात्मक काम गर्नेतर्फ प्रेरित गरेको बताए ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले खेलकुदले खेलाडीको प्रतिभा पहिचानका साथै उनीहरुमा लुकेर रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्ने बताउँदै प्रतियोगिताले खेलाडी उत्पादनमा समेत सहयोग पु¥याउने बताए । कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य राखेका थिए ।
आउँदो २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न २१ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । म्याग्दी जेसीजका शाखा अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता, महासचिव दिनेशकुमार विश्वकर्माको सञ्चालन र कार्यक्रम संयोजक कुमार बानियाँको स्वागतमा सम्पन्न कार्यक्रमको अवसरमा जेसीज कपको नयाँ ट्रफी सार्वजनिक गरिएको थियो ।
प्रतियोगितामा विजेता विद्यालयलाई जेसीज कप रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ५२ हजार दुईसय २२ र उपविजेतालाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद ३२ हजार दुईसय २२ रुपैयाँले पुरस्कृत गरिने भएको छ । प्रतियोगितामा विभिन्न विधातर्फ उत्कृष्ट हुने खेलाडी तथा अनुशासित टिमलाई पनि अवार्ड तथा नगदले पुरस्कृत गरिने म्याग्दी जेसीजले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि आठलाख ६८ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।