देशको पुनर्निर्माण मात्रै नभएर भूकम्पले ढलेका मन्दिर, मस्जिद र देशकै गहना धरहरा ठड्याउन पाएकोमा आफूहरुलाई गर्व लागेको बेनीमा आयोजित मजदुरका नेताले बताएका छन् । नेपाल बिजुली, पेन्टर, पलम्बर निर्माण मजदुर युनियन (क्युपेक) नेपाल म्याग्दीको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै क्युपेकका केन्द्रीय अध्यक्ष नरनाथ लुईटेलले यस्तो बताएका हुन् ।
देश मात्रै होइन विश्व निर्माणमा खट्ने मजदुरका सिमेन्टले खाएका हातलाई सबैले सम्मान गर्नुपर्ने उनको भनाइ थियो । लुईटेलले भने– ‘देश निर्माणका लागि सडकमा खट्नेदेखि लिएर ठूला बिल्डिङ बनाउने तथा घरलाई उज्यालो बनाउन वाइरिङ एवं पानीका धारा तथा ट्वाइलेट जस्ता सबै पूर्वाधारका भौतिक संरचनाहरु निर्माण गर्ने मजदुरहरुकै कारण समग्र विकास भएको हो ।’ देशभर १ लाख ६५ हजार ७ सय ११ जना सदस्य रहेको क्युपेक एसियाकै उत्कृट सङ्गठन रहेको अध्यक्ष लुइँटेलको दावी छ ।
‘मजदुरहरुको पक्षमा वकालत गर्ने हो, अवाज उठाउने हो तर बिगार्ने होइन । मजदुरले तलब पाएनन् वा अन्य सुविधा नपाएको प्रसङ्गमा आन्दोलन गर्ने हो तर तोडफोड गर्ने र बिगार्ने काम कदापी गर्नुहुँदैन’ अध्यक्ष लुइटेलले भने । ठूला मानिसहरु बस्ने कुर्सी हामी बनाउँछौं, उहाँहरुको कार्यकक्ष उत्कृष्ट बनाउँछौं, तर हामी त्यही ठाउँमा पुग्न डराउँछौं, त्यस्तो गनुहुँदैन जायज माग र सही कामका लागि हामी जुनसुकै स्थानमा पनि पुग्नुपर्ने उनको भनाइ छ ।
सोही कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले संसारलाई अगाडि बढाउन र विकास गर्न श्रमजीवी मजदुरकै हात हुनेहुँदा क्युपेक जस्ता संस्थाले मजदुरको हित र उनीहरुको रोजीरोटीको मात्र नभई भविष्य पनि कसरी सुरक्षित गर्ने भन्नेतर्फ ध्यान दिनुपर्ने बताए । उनले दैनिक मजदुरी गरेर आफ्नै परिवार पाल्ने र सबैको परिवारलाई सुरक्षित राख्ने मजदुरहरुलाई उचित सम्मान गर्नुपर्नेमा जोड दिए ।
क्युपेकका केन्द्रीय महासचिव गोपाल कार्कीले २०४५ सालमा पेन्टर संघ गठन भएर सुरु भएको मजदुर युनियनले २०५४ जेठ १८ गते विभिन्न ४ वटा सङ्गठनहरुलाई एकीकृत गरेर क्युपेक नेपाल गठन भएको बताए । उनले सबै स्थानीय तहमा मजदुरहरुको समस्या र त्यसको निराकरण गर्न मजदुर हेल्प डेस्क आवश्यक भएकोतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा क्युपेक म्याग्दीका इन्चार्ज बलादेवी राई, जिफन्टका पूर्व अध्यक्ष गोपाल रिजाल, क्युपेक नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सचिव पुण्यप्रसाद उप्रेतीले मन्तव्य राखेका थिए । क्युपेक जिल्ला अध्यक्ष महाप्रसाद राईको अध्यक्षता, जिफन्ट म्याग्दीका कार्यवाहक सचिव अर्जुन रानाको स्वागत र क्युपेकका सचिव मुकेश शाहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अधिवेशनले महाप्रसाद राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष मुकेश शाह, सचिव पुजा छन्त्याल, सह–सचिव सरोज थापा, कोषाध्यक्ष सुक्ला गुरुङ चयन भएका छन् । अधिवेशनले निकेश श्रेष्ठ प्रमुख र अमर गैरेलाई उपप्रमुख रहेको प्रतिनिधि परिषद् समेत गठन गरेको क्युपेक नेपालका जिल्ला इन्चार्ज राईले बताइन् ।
Previous Articleरुप्से दैनिक ! २० मंसिर २०७८
Next Article जीवन जिउने कलासम्बन्धी उत्प्रेरणामूलक प्रशिक्षण