उमेर आउने पुसमा २८ पुरा हुँदै छ । परिवारको जेठो छोरो जिम्मेवारीको पहाड काँधमा बोक्नु पर्ने अवस्था, तै पनि ग्रामिण परिवेशमा आर्थिक बिपन्नताले गाउँ छाडेर सदरमुकाम प्रवेश गनेको परिवार सँगै सानै देखि काममा खट्नु पर्ने बाध्यताले सामान्य शरिर यी विशेषता हुन अहिले चर्चामा रहेको गित जाम भो माइली हिमाल पारी देशैमा गितका सर्जक तथा गायक प्रकाश दुतराजको । बाबा आमा संगै बेनी बजारका घरहरु ढलानको क्रममा सिमेन्ट तथा कंक्रिटका कराइ उठाउँदै गित संगितमा उठेका प्रकाश अहिले टिकटकका भिडियोका गितमा ट्रेण्डीङ नै हुनुहुन्छ ।
२ बहिनी अनि ३ भाईको परिवारका दुतराज जेठो छोरा हुनुहुन्छ भने उहाँकी एक दिदीको विवाह भै सकेको छ । २ वटा भाई र एक बहिनी तथा १ दिदी गरी परिवारका सदस्यहरु ७ जना । पश्चिम म्याग्दीको मंगला गाउँपालिका –५ अर्मनका दुतराजलाई फोनमा सम्पर्क गर्दा गाउँमै कपडा धुँदै भन्ने उत्तर पाइयो । दशैं मनाउनका लागि जिल्ला आएका दुतराजले काठमाडौंमा स्ट्रकल गर्न थालेको पनि ६ वर्ष पुरा भै सकेको छ । २०७२ को भुकम्प पछि लगत्तै काठमाडौं हानिएका प्रकाशले अहिले सम्म १२ वटा गित आफै रकेर्ड गराउनु भएको छ भने अरुका ७ वटा गितमा स्वर दिनुभएको छ । दिदीको बिबाह भै सकेकोले आफू भन्दा मुनिका ३ जनाको रेखदेख गर्नु तथा पढाउनु बढाउनुको जिम्मेवारी पनि प्रकाशकै काँधमा छ ।
आमा उर्मिला देवि र बाबा भक्तबहादुरका दोश्रो सन्तानका रुपमा २०५० पुस ६ गते पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन (साविक अर्मन गाविस–६) मा जन्मीनु भएका प्रकाशले कक्षा ७ सम्म शिशुकल्याण माध्यमिक विद्यालय अर्मनमा पढ्नु भयो । कमजोर आर्थिक अवस्थाका कारण गाउँमा बस्न खान धौधौ हुने भएकाले बाबु आमा सँगै सदरमुकाम बेनी आएपछि कक्षा ८ देखि १० सम्म प्रकाश माध्यमिक विद्यालय र कक्षा ११ र १२ माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यलयमा पढ्नुभयो । विद्यालय अध्ययनकै शिलशिलामा प्रकाशले माउण्ट एभरेष्ट आमाविमा पढ्दै गर्दा २०६८ सालमा पहिलो पटक सिमसिम पानी बोलको गित रेकर्ड गर्नुभएको थियो । उक्त गित रिलिज ढिलागरी भएको भए पनि प्रकाशको पहिलो रेकर्ड भएको गित त्यही नै थियो ।
प्रकाशले बजारमा ल्याएका सबैजसो गितहरु मौलिकता तथा यथार्थ सँग जोडिएको हुन्छन् । ग्रामिण परिवेशको यथार्थलाई समेटेर सृजना गर्दा आम मानिसको मुखमा सहजै बस्ने हुँदा त्यसतर्फ ध्यान दिएको प्रकाशको भनाई छ । प्रकाशले अक्टोबर ७ म आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको गित जाम भो माइलीमा पनि समाजमा रहेका सोझा चेलीबेटीलाई ललाइ फकाइ गरेर बेचबिखन गरिने विषयको उठान गरिएको छ । चिटिक्क परेको पोशाक र अत्तरको स्वादमा रमाउने नेपाली समाजको प्रवृत्तिलाई उक्त गितमा चित्रण गरिएको छ । अपरिचित व्यक्तिले देखाउने लोभलालचको शिकार बन्दा महिलाहरु फस्न सक्ने घटना जाम भो माइलीमा उठाइएको छ । रिलिज भएको छोटो अवधि भए पनि युट्युवमा ९० लाख हाराहारी भ्यु पाएको जाम भो माइली गित अहिले टिकटकमा निकै चलेको छ ।
प्रकाशले ल्याएको मध्ये चलेको अर्को गित आरनेमा समाज रहेको छुवाछुत प्रथा र भेदभावलाई उठान गरिएको छ । पश्चिम म्याग्दीको अर्मनमा घरकै काममा बाबा ब्यस्त हुनुहुन्छ भने पछिल्लो ९ वर्ष देखि प्रकाशकी आमा बैदेशिक रोजगारीमा हुनुहुन्छ । बाल्यकालमै पनि प्रकाशका बाबा आमा सदरमुकाम बेनीमा पक्की घर ढलानको काममा खट्ने गर्नु हुन्थ्यो । बाबाआमा सँगै प्रकाश पनि ढलानमा जाने र निकै मेहनत गरेर काम गर्ने गरेको बताउनुहुन्छ म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल ।
बैदेशिक रोजगारीमा जाने योजना सहित काठमाडौं छिरेका प्रकाशले गित संगितमा खटेर काठमाडौंमै डेरा मात्र जमाउनु भएन उहाँका गितहरु एक पछि अर्कोले चर्चा पाए । प्रकाशले सार्वजनिक स्वर दिएका अधिक गितहरुले राम्रो भ्यू पाएको छ । प्रकाशको गित बैनी झ्यालैमा १ करोड बढीले युट्युवमा हेरेका छन् । त्यही बैनी झ्यालैमा गितको म्युजिक भिडियोमा प्रकाशले बहिरा कलाकारलाई सहभागी गराउनुभएको छ । बहिरा कलाकारहरु सुजल बम, श्रद्धा भुषाल, दिप सागरको अभिनय रहेको उक्त म्युजिक भिडियोमा शिलु शर्माले दोभाषेको काम गर्नुभएको थियो ।
त्यस्तै डाडै काटेर, किन चल्छ बतासे हुरीले, फुल लाउथे शिरमा, रोइला गरम्ला त्यत्ती राम्रो भ्यू नपाएको भए पनि तिरिरि मुरली बज्यो तारेभिर एक लाख ७२ हजार, आरने ५ लाख १९ हजारले हेरेका छन् भने कान्छी बोलको गितले पनि राम्रै सँग दर्शक श्रोताको मन जितेको छ । त्यस्तै घर कता हो बैनीको गितले १ करोड १५ लाख भ्यु पाएको छ भने २० दिन अगाडी मात्रै आएको गित जाम भो माइली बजारमा चर्चामा छ ।
२०७२ को भुकम्प पछि बैदेशिक रोजगारीमा जानका लागि भनेर काठमाडौं पुगेका प्रकाश दोहोरी साँझमा काम गर्न थाल्नुभयो । उहाँले गत बैशाख सम्म पनि काठमाडौं दोहोरी साँझमा गायनकै काम गर्नु भएको थियो । दोहोरी साँझले उहाँको काठमाडौं बस्ने खाने खर्च जोहोमा ठूलो भूमिका खेलेको प्रकाशको बुझाई छ । लामो समय सम्मको दोहोरी साँझको प्रक्टीसले प्रकाशलाई शब्द चयन देखि गाउने शैली. शब्दको छनौट तथा चयनको तौर तरिका तथा संगीतको बुझाईलाई फराकीलो बनाएको उहाँको बुझाई छ । म बिदेश जानकै लागि काठमाडौं पुगेको थिएँ तर बिदेश गएर मेहनत गर्न नसके पनि नेपाली कला क्षेत्रकै एक बिधा गायनमा भने मेहनत गरेँ प्रकाशले भन्नुभयो ।
कुनै पनि गीतहरु सोचेभन्दा बढी दर्शकश्रोताले मन पराइदिँदा खुसी त मिल्छ नै । तै पनि हरेक सिर्जनाले आफ्नो भाग्य लिएर आएका हुँदा रहेछन् के कति चल्ने नचल्ने भन्ने त्यसमा पनि भर पर्ने रहेछ । कलाकारलाई चुनौती भनेकै आफ्ना सिर्जनाको हुने रहेछ । दर्शकले जुन हिसाबले मेरा सिर्जनालाई मन पराइदिनु भएको छ, त्यही अपेक्षा अब आउने गीतले दिन सक्छ कि सक्दैन भन्ने डर चाहिँ म सँग सँधै रहन्छ, निःस्वार्थ प्रेम पाउने कुरा सामान्य होइन, दर्शक श्रोताको माया पाइ नै हने हो भने मैले पनि उहाँहरुको रुची अनुरुपका गितसंगित बजारमा ल्याउनै पर्छ ।