‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बिहीबारदेखि देशैभर सुरु भएको छ । यसैक्रममा हिमालपारीको जिल्ला मुस्ताङमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर अभियान मनाउन थालिएको हो ।
अभियानको दोस्रो दिन हिँजो शुक्रबार अभियान व्यवस्थापन समिति जोमसोम, मुस्ताङको आयोजनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा एकसय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । पहिलो दिन प्रभातफेरीसहित सदरमुकाम जोमसोम बजारको परिक्रमा गरी मिलनचौतारीमा पुगेर कोणसभा भएको थियो । कोणसभामा सरोकारवालाहरुले लैङ्गिक हिंसाको विरुद्धको प्रतिबद्धता जनाउँदै दस्तखत गरेका थिए ।
१६ दिने अभियानको दोस्रो दिनमा सर्वसाधारणको निःशुल्क आँखा परीक्षण, आयुर्वेदिक औषधी वितरण, मधुमेह तथा उच्च रक्तचापको परीक्षण लगायतका स्वास्थ्य परीक्षणको सुविधा प्रदान गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनले मुस्ताङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो दिन एक सयभन्दा धेरै बिरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गरी सुविधा लिएको जानकारी दिएका छन् ।
मुस्ताङमा १६ दिनसम्म नै फरक–फरक कार्यक्रमहरुको आयोजना गरी अभियान मनाइने भएको छ । पहिलो दिन प्रभातफेरीसहित सुरु भएको अभियानको दोस्रो दिन स्वास्थ्य परीक्षण गरिएको छ भने आउँदा दिनमा सरसफाई, महिलासम्बन्धी कानुनबारे अभिमुखीकरण, स्थानीय गाउँ पालिकाहरुमा कार्यक्रम, हिंसासम्बन्धी घटनाको समीक्षा, ज्येष्ठ नागरिकको भूमिका र उनीहरुले पु¥याएको योगदान तथा अन्तरपुस्ता सिप हस्तान्तरणसम्बन्धी प्रवचन हुनेछ ।
यसैगरी अभियानअन्तर्गत बाल सञ्जाल गठन, फरक क्षमता भएका व्यक्तिहरु र लैङ्गिक हिंसासम्बन्धी अन्तरक्रिया, लैंङ्गिक हिंसा निवारणमा महिला सहकारीको भूमिकासम्बन्धी अन्तरक्रिया, हिंसा न्युनीकरणका लागि गैरसरकारी संघसंस्थाको भूमिकासम्बन्धी अभिमुखीकरणलगायत थासाङ गाउँपालिकामा कार्यक्रम गरिने मुस्ताङका प्रजिअ शर्माको भनाइ छ ।