नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेनी उपशाखा म्याग्दीले जीवन बिमा मृत्यु दावी रकम भुक्तानी गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा बिमितको घरमै पुगेर मृतकको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो ।
राम्चेका टेकमन गर्बुजाले नेपाल लाईफ इन्स्योरेन्समा दुईवर्ष अगाडि पाँचलाख रुपैंयाँ बिमाङ्कको जीवन बिमालेख खरिद गर्नुभएको थियो । उहाँको गएको भदौ महिनामा पहिरोले गाडी पुरिँदा गाडीभित्रै मृत्यु भएको थियो । कम्पनीका बेनी उपशाखा प्रमुख प्रकाश रेग्मीले बिमितको घरमा पुगेर १० लाख ५४ हजार एकसय ६७ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको उपशाखाले जनाएको छ ।
राम्चेका वडा सदस्य यामबहादुर पूर्जाको अध्यक्षतामा भएको बिमा दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा जीवन बिमाको महत्वबारे कम्पनीका उपशाखा प्रमुख रेग्मी र व्यवसाय संयोजक हुकु गर्बुजाले सर्वसाधारणलाई जानकारी गराउनुभएको थियो । स्थानीय शिक्षक उमेश गर्बुजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा स्थानीय देउराली युवा क्लबका अध्यक्ष खिमबहादुर पूर्जाले जीवन बिमा अनिवार्य रहेको र नेपालकै अग्रणी तथा विश्वसनीय कम्पनी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले घरमै आएर दावी रकम भुक्तानी गर्दा बिमा गर्नुको महत्व झल्किएको बताउनुभयो ।