जिल्लाको मंगला र अन्नपूर्ण गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष कार्यक्रम अन्तरगत क्षमता अभिवृद्धि तालिम बुधबार सकिएको छ । कार्तिक २५ देखि बेनीमा सुरु भएको तालिममा दुईवटा गाउँपालिकाका ६५ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
युएसआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोग तथा अन्नपूर्ण र मंगला गाउँपालिकाको आर्थिक व्यवस्थापनमा तालिम सम्पन्न भएको आयोजकले जनाएको छ । एक हप्तासम्म चलेको तालिममा राष्ट्रिय पोषण नीति तथा रणनीति, बहुक्षेत्रीय पोषण योजना, पोषण तथा यसको महत्व, राष्ट्रिय पोषण कार्यक्रमको बारेमा सहजीकरण गरिएको थियो ।
यसैगरी कार्यक्रममा स्वास्थ्यकर्मीहरुलाई खाद्य विविधिकरण, स्थानीय खानेकुरा, मातृ पोषण, किशोरावस्थाको पोषण, बिरामी बालबालिकाहरुको खाना र हेरचाह, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन, बहिरङ्ग सेवाको परिचय, शीघ्र कुपोषण पत्ता लगाउने पोषणको लेखाजोखा, अन्तरङ्ग सेवाको परिचय र उपचार पद्धति, मध्यम शीघ्र कुपोषण व्यवस्थापन, गर्भवती तथा सुत्केरी महिलामा हुने शीघ्र कुपोषण व्यवस्थापन, समुदाय परिचालन, सामुदायिक सचेतीकरण, खानेपानी, सरसफाई र स्वच्छताको विषयमा सहजीकरण गरिएको छ ।
तालिमको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल, मंगलाका स्वास्थ्य शाखा संयोजक लेखनाथ रोका, बेनी नगरपालिकाका स्वास्थ्य सहसंयोजक डिल्लीराज आचार्य, राखुपिप्ले स्वास्थ्यचौकी इन्चार्ज शिवप्रसाद पाण्डे र सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी लगायतले सहजीकरण गरेका थिए ।
मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको अध्यक्षता र अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्नपूर्णका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, मंगला गाउँपालिका २ बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती र स्वास्थ्य संयोजक लेखनाथ रोका बोलेका थिए ।