तिहारको अवसर पारेर जनचेतना युवा क्लबले आयोजना गरेको इन्दु स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक जनचेतना युवा क्लबले जितेको छ ।
बेनी नगरपालिका–४, सिंगाको जनचेतना युवा क्लबकी सदस्य इन्दु भट्टचनको स्मृतीमा भएको सेभेन ए साइड फुटबल प्रतियोगितामा गण्डकी प्रदेश भित्रका ३५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पश्चिम म्याग्दीको दरवाङले दोश्रो स्थान हासिल गरेको छ । कार्तिक १६ देखि शुरु भएको प्रतियोगिताको सेमीफाइनल सम्मका खेलहरु १९ गते सकेर २० गते तीहार ब्रेक पछि २१ गते फाइनल खेलाइएको थियो । फाइनलमा जनचेतना युवा क्लब सिंगाले वेष्ट दरवाङलाइ १ का विरुद्ध २ गोल गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
प्रथम हुने टिमले नगद ४५ हजार ५ सय ५५ रुपैंयाका साथै ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने वेष्ट दरवाङले ३० हजार ५ सय ५५ रुपैंया नगद सहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको जनचेतना युवा क्लब सिंगाका अध्यक्ष भगवान खड्काले बताउनुभयो । खड्काका अनुसार गण्डकी प्रदेश भित्रका टिमहरुको सहभागिता रहेको भए पनि ए डिभिजन लिग खेल्ने खेलाडीहरुको समेत सहभागितालाई प्रतियोगितालाई थप आकर्षक बनाएको थियो ।
त्यस्तै सक्रिय खेल जीवनबाट बिट मारेका पूर्व फुटबल खेलाडीहरु अर्थात् प्रौड फुटबलमा पनि ५ टिमको सहभागीता रहेको थियो । प्रौड फुटबलमा मालिका युवा क्लब सहश्रधारा पहिलो भयो भने बास्कुना युवा क्लब बेनी नगरपालिका–४ बास्कुना दोश्रो भएको थियो । पहिलो हुने प्रौढ टोलीले ४ वटा कालिज र दोश्रोलाई २ वटा कालिज पुरस्कार प्रदान गरिएको थियो ।