हिमाली जिल्ला म्याग्दीमा यस वर्ष पनि चाडपर्वलक्षित खलकुदजन्य गतिविधि सञ्चालन गर्न तथा देउसीभैलो खेल्न स्थानिय प्रशासनले रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैठकको निर्णयअनुसार कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मेलाजात्रा लगाउन र देउसी खेल्नलाइ रोक लगाइएको हो ।
जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रमुखसहित सरोकारवालाहरुको राय, सल्लाह र सुझावको आधारमा नजिकिँदै गरेको दिपावली, छठपर्वलगायत चाडपर्वमा भेला तथा जमघट हुने खालका खेलकुदका गतिविधिहरु गर्न र देउसीभैलो खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले चाडपर्वमा भेला हुने र भीडभाड गर्ने खालका गतिविधि सञ्चालनमा रोक लगाइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले जानकारी दिनुभयो । चाडपर्वको अवसरमा हुने मेला, जात्रा, देउसीभैलो, खेलकुद तथा साङ्गीतिक कार्यक्रम जस्ता भीडभाड हुने क्रियाकलापहरुमा रोक लगाइएको सहायक प्रजिअ शर्माले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनाको वेवास्ता गरी कसैले चाडपर्वको नाउँमा खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना तथा सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारवाही हुने सहायक प्रजिअ पौडेलको भनाइ छ । घरदैलोमै पुगेर खेलिने देउसीभैलोले संक्रमण हुने भएकाले सतर्कता अपनाउन आवश्यक रहेको प्रशासनले जनाएको छ ।
म्याग्दीमा पछिल्लो तथ्याङ्कअनुसार अहिले जिल्लाभर कुल २८ जना कोराना भाइरसका सक्रिय संक्रमितहरु रहेका छन् । तीमध्ये २ जना बेनी अस्पतालको आइसोलेसनमा उपचाररत रहेकोमा अन्य संक्रमित होम आइसोलेसनमा छन् ।
Previous Articleरुप्से दैनिक ! १५ कार्तिक २०७८
Next Article रुप्से दैनिक ! १६ कार्तिक २०७८