मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको छ । यो उपाधिसंगै नेपालले अन्तराष्ट्रिय फुटबलमा ह्याट्रिक मात्र गरेको छैन पहिलोपटक महादेशिय उपाधि जितेर नेपालको शिर विश्व जगतमा परिचित गराएको छ । गत वर्षको माघ महिनामा बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्ड कप जितेको नेपालले त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) मा भारतलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेको थियो । तर ती दुवै प्रतियोगिता विश्व फुटबल महासंघ (फिफा) ले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन । तर सोलिडारिटी कप फिफाको आधिकारिक प्रतियोगिताको उपाधि हो । म्याच फिक्सिङको कारण ओरालो लागेको नेपाली फुटबल अहिले सफलताको शिखरमा चढिरहेको छ । म्याच फिक्सिङको मुद्दामा अहिले पनि नेपालका चर्चित खेलाडिले मुद्दा खेपेका छन् ।
नेपाली खेलाडिले एसफसी सोलिडारिटी कपको उपाधि जितेपछि नेपाल सरकारले नेपाली टोलीका सदस्यलाई जनही ३ लाख दिने निर्णय समेत गरेको छ । म्याच जितेमात्र पुरस्कार दिने तर, खेलाडिलाई आवश्यक पर्ने अभ्यासमा भने नेपाल सरकारले बेवास्ता गर्दै आएको छ । सरकारको यस्तो रवैयाका कारण नेपाली फुटबलले विश्वस्तरमा प्रतिष्पर्धा गर्न सकेको छैन । विश्वको फुटबल अहिले यति विकास भएको छकि जहाँ पुग्नको लागि नेपालले ठूलो संघर्ष गर्नुपर्छ । देशमा कम प्रतियोगिता हुने, खेलाडिलाई राज्यले प्रोत्साहन गर्न नसक्नु र समय–समय प्रशिक्षण दिन नसक्दा नेपाली फुटबलको विकास हुन सकेको छैन । अझ लाजमर्दाे कुरा त के छभने नेपालमा खेल खेलेर बाँच्न सक्ने अझै वातावरण बन्न सकेको छैन । खेलाडिलाई जबसम्म राज्यले खेल खेलेर बाँच्न सक्ने वातावरण सिर्जना गर्न सक्दैन तबसम्म नेपाली फुटबलले अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्दैन । त्यसैले प्रतियोगिता जितेमात्रै पुरस्कार दिने संस्कारको अन्त्य गरी खेलाडिलाई व्यवसायिक बनाउनको लागि नियमित प्रशिक्षण, निरन्तर प्रतियोगिता र राज्यले उचित पारिश्रमिकको व्यवस्था गर्न आवश्यक छ ।
अन्तराष्ट्रिय प्रतियोगितामा रवाफ देखाउँदै गएको नेपाली टोलीले यत्तिकैमा चित्त बुझाउने संकेत देखाउदैन । नेपाली खेलाडिको खेल लय राम्रो बन्दै गएको छ । अझ नेपालले ठूला प्रतियोगितामा आफुलाई दरिलो रुपमा प्रस्तुत गर्नुपर्छ । त्यसको लागि राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउन जरुरी छ । अर्काे कुरा नेपाली खेलाडिले अन्तराष्ट्रिय प्रतियोगिता जित्दा गौरव गरेर मात्रै हुँदैन । उनीहरुलाई खेलेर बाँच्न सक्ने अवस्थामा पुराउने जिम्मेवारी पनि सरकारी निकायको हो । नेपालको अबको चुनौती भनेको साफ च्याम्पियनसिप हो । अहिलेसम्म नेपालले साफ च्याम्पियनसिप जित्न सकेको छैन । त्यसको तयारीका लागि सम्पूर्ण शक्ति लाग्न जरुरी छ । खेलाडिलाई व्यस्त राख्नको लागि धेरै लिग संचालन गर्ने र खेलाडिलाई पुरस्कृत र सम्मान गर्न जरुरी छ ।
Previous Article‘कर तिर्ने वातावरण चाहियो’
Next Article शिक्षक विद्यार्थीको मनो सन्तुलन