शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको विविध कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बोल्दै राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरका प्रमुख डाक्टर शान्ता कार्कीले यस केन्द्रलाई उत्कृष्ट केन्द्र बनाउनु पर्नेमा जोड दिएकी छिन् । उनले शितोष्ण फलफूलका माउबोट, प्राविधिक तालिम केन्द्र एवम् शीतोष्ण फलफूलको क्षेत्रमा विशेषज्ञताप्रति ध्यान दिन समेत आग्रह गरेकी थिइन् । केन्द्रको क्रियाकालापहरु अहिले पनि उत्कृष्ट रहेको बताउँदै कार्कीले यसलाई थप प्रभाबकारी बनाउनु पर्ने र सोका लागि जग्गा अपुग देखिएकोले स्थानीय समाजसेवी एवम् राज्यका निकायहरुले पनि पहल एवम् समन्वय गर्नु पर्ने कुरामा जोड दिइन् ।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले शितोष्ण बागवानी विकास केन्द्रले बागवानी जन्य वस्तु उत्पादनमा खेलेको भूमिका वारे चर्चा गरेका थिए ।
कृषि बिज्ञ डा. गोबिन्द रिजालले आउने कार्यक्रमहरुमा केन्द्रको उत्पादन साथसाथै किसानहरुका उत्पादन पनि प्रदर्शनीमा राखिए राम्रो हुने सुझाब दिएका थिए ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङको आर्थिक वर्ष २०७८/०७९ बार्षिक कार्यक्रम अनुसार केन्द्रको फार्म स्थापना दिवस–२०७८ केन्द्रको परिषरमा सम्पन्न गरिएको हो । केन्द्रका निमित्त केन्द्र प्रमुख पद्मनाथ आत्रेयको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरका प्रमुख तथा सहसचिब डाक्टर शान्ता कार्की रहेकी थिएन् । विशिष्ट अतिथिहरुमा जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवाली र प्रमुख जिल्ला अधिकारी मुस्ताङका श्रीनाथ पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय प्रमुख, गाउँपालिकाका वडा अध्यक्ष, स्थानीय समाजसेवी, कृषक तथा सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
जिल्ला विकास समिति मुस्ताङका पूर्व सभापति एवम् स्थानिय अगुवा कृषक बिष्णुराज हिराचनले शीतोष्ण बागवानी विकास केन्द्र स्थापना हुँदाको बखत मुस्ताङ जिल्लाको तरकारी र फलफूल उत्पादनको अवस्था एवम् अहिलेको पछिल्लो अवस्था साथै यसमा देखिएको परिवर्तन तथा विकासको बारेमा जानकारी गराएका थिए ।
कार्यालयलका लेखापाल दिनेश सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा बागवानी विकास अधिकृत काशीराम पाण्डे स्वागत गरेका थिए ।
बाली संरक्षण अधिकृत किरण परियारले केन्द्रको बिगतदेखि अहिले सम्मको अवस्था साथै केन्द्रको गतिविधिका बारेमा प्रष्ट्याएका थिए ।
घरपझोङ गाउँपालिका–०२ का वडा अध्यक्ष मानबहादुर विश्वकर्माले जलवायु परिवर्तनको असरले निम्त्याएको विभिन्न स्याउहरुको विकास संगसंगै रोगहरुबाट समेत स्याउबाली र अन्य बागवानीजन्य वस्तुको उत्पादनमा समेत असर परेकाले यस सम्बन्धि बिउ, मल, किटनाशक विषादी र उच्च स्तरको प्राविधिक सेवा आवश्यक रहेको औंल्याएका थिए ।
स्थापना दिवसको अवसरमा बुद्धिरत्न शेरचन, पासाङ खम्पाछे शेर्पा, भैरवराज कैनी, मदनकुमार राई, डाक्टर दिवबहादुर गुरुङ, डाक्टर गिरीधारी सुवेदी, चुटराज गुरुङ, कृष्णमान श्रेष्ठ, बेदप्रकाश पौडेल, डाक्टर गजेन्द्र सेन निरौला, मदन कुमार श्रेष्ठ, धर्मप्रसाद देवकोटा, तारापति ज्ञवाली, बालकृष्ण अधिकारी र बसन्तकुमार श्रेष्ठलाई पूर्व केन्द्र प्रमुखका रुपमा सम्मान गरिएको थियो । त्यस्तै खैरे बुढा, जीवन तामाङ र निलबहादुर पुर्जालाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कृषकका रुपमा निरज तुलाचनलाई सम्मान गरिएको थियो ।