नेकपा एमालेनिकट जातीय सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको नगरस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । शनिबार नेकपा एमाले पार्टी कार्यालय हाँडेभीरमा सम्पन्न नगर भेलाबाट गौरी दर्जीको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा रुपेश सुन्दास, बलबहादुर परियार, सचिवमा राजु किसान, सहसचिवमा गणेश परियार, हर्कबहादुर बिश्वकर्मा र कोषाध्यक्षमा भगवती बोहोरा चयन भएका छन् । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव मनोहर विश्वकर्माले दलित मुक्तिका लागि मुक्ति समाज एक मात्र साझा दलित सङ्गठन भएको बताए ।
जिल्ला समन्वय समिति पर्वतको प्रमुख समेत रहेका केन्द्रीय सचिव विश्वकर्माले दलितहरुले आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकार प्राप्त गर्नका लागि अझ धेरै आन्दोलन गर्न बाँकी रहेको बताए । उनले सम्पूर्ण दलितहरुलाई एमालेको विचार नीति र सिद्धान्तमा गोलबन्द हुन पनि आग्रह गरेका छन् । जातीय मुक्ति समाजका केन्द्रीय सदस्य एवँ गण्डकी प्रदेश सहइन्चार्ज पुस्कर विकले कांग्रेस दलित विरोधी पार्टी र माओवादी केन्द्र इन्जिन नभएको ट्याक्टर जस्तै भएको टिप्पणी गरे ।
त्यस्तै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पार्टीले दलितलाई कुनै पनि अवसरहरुबाट बञ्चित नबनाउने बताए । भेलामा जातीय मुक्ति समाजका केन्द्रीय सदस्य जीवनकुमार विश्वकर्मा, नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदी, बेनी नगर कमिटी अध्यक्ष प्रमोद श्रेष्ठ, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, लेखा आयोग संयोजक चन्द्रकुमार केसी लगायतले मन्तव्य राखेका थिए ।
भेला नेपाल उत्पीडित जातीय मुक्ति समाजका जिल्ला संयोजक खरमाया बिटालुको अध्यक्षता, सचिव भोजबहादुर थापा किसानको सञ्चालन र सदस्य सुवास विश्वकर्माको स्वागतमा सम्पन्न भएको थियो ।
Previous Articleअनेरास्ववियु गण्डकी प्रदेश संयोजकमा प्रकाश पौडेल
Next Article रुप्से दैनिक ! ०४ आश्विन २०७८