नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको बताएका छन् । स्थायी कमिटी बैठकको भोलिपल्ट हिँजो बुधबार विशेष पत्रकार सम्मेलनमा उनले संविधानको मर्म र राष्ट्रिय आवश्यकता नभई एमाले विभाजनको उद्देश्य राखेर अध्यादेश ल्याइएको बताएका हुन् ।
‘सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ प्रतिपक्षी पार्टी फुटाउने काम गरेको छ । यो अनैतिक कार्य हो’, ओलीले भने । अध्यादेशप्रति ओलीले व्यंग्य पनि गरे । ‘माधव नेपाललाई जति चाहिन्छ त्यति संख्या भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, त्यसमा किन अल्मलिनुभयो थाहा छैन,’ ओलीले भने ‘माधव नेपालले पार्टी फुटाएपछि स्वतः निस्क्रिय हुन्छ भन्ने पनि छुट्यो ।’
संसदले काम नगरेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना पनि गरे । पुस ५ मा आफ्नो नेतृत्वको सरकार संसद विघटन गर्दा संसदलाई काम गर्न दिएन भनेर आरोप लगाउनेले संसदबाट के गरे भनेर उनले प्रश्न गरे । उनले जनादेशबाट नभई परमादेशबाट सरकार बनाउने, शक्ति सन्तुलनको सिद्धान्त खल्बल्याउने र नागरिकले मूल्याङ्कन गर्न नपाउने अवस्था बन्दै गएको आरोप पनि लगाएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफ्ती रिसोर्टमा लगेर राखेको भन्दै यसलाई ‘अपहरणकारी ज्यादतीपूर्ण’ कामको संज्ञा दिए । ‘बैठक कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’ भन्ने प्रश्न गर्दै उनले नेताहरुलाई घेराबन्दी गरेर घर घरबाट लगेर राखेको दाबी पनि गरे । यस्तै ओलीले अनुकूल समयमा पार्टीमा जिम्मेवारी हस्तान्तरण गर्ने पनि खुलासा गरेका छन् ।
सरकारको प्रतिपक्षी पार्टी फुटाउने अनैतिक काम
Previous Articleरुप्से दैनिक ! ०९ भाद्र २०७८
Next Article रुप्से दैनिक ! १० भाद्र २०७८