म्याग्दीका लोक कलाकार धुर्ब जिसीले ‘तीजको लखेटो, दाहिने पखेटो’ बोलको तीजगीत ल्याउने तयारी गरेका छन् । बिहीबार दिउँसो २ बजे सार्वजनिक हुन लागेको तीजगीतको छायाङ्कनसहित आवश्यक सबै तयारी पुरा भैसकेको गायक जिसीले बताए ।
मौलिक लोकदोहोरी तीजगीतको छायाङ्कन म्याग्दीको बेनी नगरपालिका ६ चुत्रेनीमा गरिएको छ । उक्त गीतमा म्याग्दी जिल्ला भित्रकै सुनिल बाँनिया, शंकर पौडेल लगायत ३० जना भन्दा धेरै कलाकारले अभिनय गरेका छन् । ज्ञानु राना फगामी लगायत १४ जना महिला कलाकार ३ जना कमेडीयन पुरुष कलाकारसहित ३० जना भन्दा बढीले अभिनय गरेका छन् । गीतमा गायक जिसीसहित पुरुष कलाकारतर्फ रामु रिजाल र शक्ति छिनाल तथा महिला कलाकारमा मिलन विश्वकर्मा र शान्ती परियारले स्वर दिएका छन् । गायक धुर्ब जिसी आफैले शब्द/सङ्गीत भरेको तीज गीतको छायाङ्कन क्रियटिभ मिडिया प्रोडक्शनले गरेको थियो भने निर्देशन तथा मिक्सीङ लगाएतका प्राविधिक कार्य सञ्चारकर्मी समेत रहेका भूपेन बानियाँले गरेका छन् ।
भारतीय सेनाबाट सेवानिवृत्त भएका जिसी साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् साथै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको प्रथम उपाध्यक्ष समेत हुन् । जिल्लाको मंगला गाउँपालिका -२ कुहुँस्थित सल्यान स्थायी घरभई हाल सदरमुकाम बेनीमा बसेर गायक जिसी गीतसङ्गीत र विभिन्न क्षेत्रमा आबद्ध हुनुहुन्छ । गायक जिसीले यस भन्दा पहिला लोभै लाउने जिउ, सनाइ रोलाकी, तिमि सँग बसेको दिल, सालैजो जस्ता जितहरु बजारमा ल्याएका थिए ।