कुन्ता शर्मा
कवि !
सजिलै हुन्छ
आमाको प्रशंसामा कविता लेख्न ,
उत्कृष्ट शब्दसंयोजन गर्न ,
भावविह्वलता प्रदर्शन गर्न ,
हो , साँच्चै नै सजिलो हुन्छ
आमाको महानताको कविता लेख्न ।
आमाका चाउरी परेका गालाहरू ,
आमाका धूमिल हुँदै गएका आँखाहरू ,
आमाका श्रवणशक्ति हराउँदै गएका कानहरू ,
आमाको अस्थिपञ्जर हुँदै गएको शरीर ,
र , स्मरणशक्ति हराउँदै गएको मस्तिष्क ,
त्यतिबेला साँच्चै नै गाह्रो हुन्छ ,
अति नै असहज हुन्छ , कवि !
स्नेहपूर्वक छेउमा राख्न आमालाई ।
आमाको गर्भावस्थाको सकस ,
आमाको कठिन प्रसववेदना ,
आमाले आँखा चिम्म गर्नै नपाएको रात ,
आमाले थकाइ मार्नै नपाएको दिन ,
अहिले कल्पनामा पनि नआउन सक्छ तिमीलाई
अनि टाढै राख्न खोज्छौ तिमी
जर्जर भएकी अशक्त आमालाई ।
आमाका यौवनका मधुर आकाङ्क्षाहरू
सबै – सबै पोखिए तिमीमाथि
नियास्रो , फुस्रो अनि एक्लो जीवनका
कष्टकर क्षणहरू बिर्संदै
छोराको मृदुमुस्कानमा
कसरी जीवन उत्सर्ग गरिन् आमाले
कसरी लावण्ययुक्त यौवन ,
कसैको न्यानो अँगालोमा रमाउने चाहना ,
हजारौं इन्द्रधनुषी सपनाहरू
कसरी तिलाञ्जली दिइन् आमाले ?
फर्केर आउँदैन बितेको समय
नदीमा बग्दै गएको छालजस्तो
आमाले आफ्नै बारेमा मात्रै सोचेको भए ,
आफ्नै सुखमा मात्रै रमाएको भए
के हुन्थ्यौ होला आज तिमी ?
लुटाहा , फटाहा या हत्यारा ,
हली , गोठालो या चाकर
आफ्नो जीवन उजाडेर
सारीको सप्कोभित्र
तिमीलाई नअटाएको भए
छोराछेउ बग्दै आउने आँधीबेहेरीहरूबाट
पहाडजस्तो उभिएर नजोगाएको भए
के हुने थियौ आज तिमी ?
त्यसैले , कवि !
सुन्दर शब्दहरूको संयोजन गर ,
वाक्य – वाक्यमा भावुकता भर
रसाऊन् पाठक र श्रोताका आँखाहरू
बढून् मुटुका स्पन्दनहरू
सजिलो बाटो चुन
कवि ! साँच्चै नै गाह्रो हुन्छ
वृद्धा आमालाई स्नेहको छहारी दिन
बरु एकदमै सजिलो हुन्छ
आमाको महानतामा ‘ लच्छेदार ‘ कविता लेख्न ।
कवि !
मृत्यु भएपछि आमाको
धेरै सजिलो हुन्छ मूर्ति बनाउन ,
हरेक बिहान फूल चढाउन , धूप बाल्न ,
आमाको नाममा ससानो पुरस्कार स्थापना गर्न ,
श्राद्ध गर्न अनि गतिला पिण्ड बटार्न ,
काजक्रियामा खर्च गर्न ,
दान गर्न , भागवत पढाउन ,
सजिलो हुन्छ सबै कुरा गर्न ,
तर निकै गाह्रो हुन्छ
अशक्त आमालाई आफ्नो सामीप्य दिन ,
आमाका सुखदु:खका दुई – चार कुरा सुन्न ,
आमाको जर्जर शरीरलाई सुम्सुम्याउन ,
आमाका गालाहरूमा स्नेहको चुम्बन गर्न ,
आमाका थोते गिजाहरुमा हाँसो छर्न ।
कवि !
बरू साँच्चै सजिलो हुन्छ
आमाको महानता बखानेर कविता लेख्न ।